नेपालगन्ज साइक्लिङ्ग क्लबको नेतृत्व सर्वसम्मत भएको छ । कविराम बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति कोषाध्यक्ष बाहेक सर्वसम्मत निर्वाचित भएको हो । निर्वाचन अधिकृत, अधिवक्ता पूर्ण प्रसाद ढकालका अनुसार, प्रथम उपाध्यक्ष सुनिल सिंह हमाल, द्वितीय उपाध्यक्ष दिपक कुमार गुप्ता र सचिवमा विजयन्द्र जिसी सर्वसम्मत भए ।
कोषाध्यक्षमा भने मतदान भएको छ । मतदानबाट राजेश कुमार गुप्ता निर्वाचित भए । उनले वर्तमान कार्यसमितिका सहसचिव दिपक मल्ललाई पछाडि पार्दै कोषाध्यक्षमा तेस्रो निर्वाचित भएका हुन् ।
सहसचिवमा विष्णु कंडेल सर्वसम्मत भएका छन् । सदस्यमा प्रदिप बाहुन, प्रकाश विष्ट, अजय कुमार केसी, अशोक कुमार दीक्षित र दिनेश थापा मगर सर्वसम्मत निर्वाचित
भएका हुन् ।
‘नयाँ कार्यसमिति निर्वाचित प्रमाणपत्र प्रदान पनि गरी सकिएको छ’, निवर्तमान कार्यसमितिका अध्यक्ष प्रदिप सापकोटाले भने ।
नगर प्रमुखले भने, ‘साइकल लेन बन्छ’
साइकल लेनको महत्व र आवश्यकतामा क्लबले निरन्तर जोड दिँदै आएको छ । उपमहानगरपालिकाका प्रमुखले यसलाई प्राथमिकतामा राख्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकाले आगामी दिनमा शहरमा सुरक्षित र व्यवस्थित साइकल मार्गको निर्माणमा गति आउने अपेक्षा गरिएको छ ।
नगर प्रमुख विष्टले स्वास्थ्यका लागि साइकल चढ्नु आवश्यक रहेको बताउँदै स्वास्थ्य, संस्कृति, पर्यटन र वातावरण प्रवद्र्धनमा नेपालगन्ज साइक्लिङ क्लबले अग्रणी भूमिका खेलेको बताए । उनले क्लबले संचालन गर्ने विभिन्न इभेन्टहरूमा उपमहानगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका सचिव इन्द्र कुमार गिरीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कविराम बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उद्घाटन सत्रमा सचिव गिरीले संस्थाको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, बिवाइडी नेपालगन्जका निर्देशक बसन्त भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, राष्ट्रिय बाणिज्य बैंक नेपालगन्जका प्रमुख सरोज आचार्य लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रममा क्लबका कोषाध्यक्ष राजेश कुमार गुप्ता, संस्थापक अध्यक्ष केशर बहादुर आले, संस्थापक उपाध्यक्ष पंकज श्रेष्ठ, संस्थापक सचिव गगन सिंह थापा, संस्थापक कोषाध्यक्ष खिमा थापा, संस्थापक सहसचिव झविलाल शर्मा, संस्थापक सदस्य सतिश निरौला, संस्थापक सदस्य टीएस ठकुरी, लवराज श्रेष्ठ, चन्द्र सुवेदी लगायतलाई सम्मान गरिएको छ ।
नेपालगन्ज साइक्लिङ क्लबले वार्षिकरूपमा ‘टुर डे ठाकुरद्वारा’, ‘मेयर कप राष्ट्रिय साइकल दौड’, ‘नेपालगन्ज कोरा’ लगायतका इभेन्टहरू संचालन गर्दै आएको छ ।