टक्सार बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारणसभा शनिबार आयोजना भएको छ । साधारणसभामा संस्थाको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय प्रगतिबारे विस्तृत छलफल गरिएको थियो । साधारणसभामा संस्थाका सल्लाहकार डाक्टर सुरेश कनौडिया, अधिकारकर्मी भोला महत, वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, पदमबहादुर खड्का, बीरभान के.सी., करिश्मा योगी र सुमन गौतमले सहकारीको भूमिका, पारदर्शिता र दीगो व्यवस्थापनका विषयमा धारणा राखेका थिए । उनीहरूले सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी बन्न सुझाव दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष ईश्वरप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सीमित स्रोतसाधनका बाबजुद उल्लेखनीय प्रगति हासिल गरेको बताए । लेखा तथा सुपरिवेक्षण समिति संयोजक निर्मलकुमार उपाध्यायले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अनुशासन सुदृढ रहेको उल्लेख गरे । त्यस्तै, कोषाध्यक्ष भानुभक्त रेग्मीले आय–व्यय विवरण प्रस्तुत गर्दै आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी दिए ।
कार्यक्रम सञ्चालन गर्दै संस्थाका सचिव महेश्वर जोशीले चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा संस्थाको समग्र कारोबार ३१ प्रतिशतले वृद्धि भएको जानकारी गराए । उनले संस्थाले एक अर्ब रूपैयाँ बराबरको कारोबारको लक्ष्य हासिल गर्न सफल भएको बताउँदै यो उपलब्धि सदस्यहरूको विश्वास, सक्रिय सहभागिता र जिम्मेवार व्यवस्थापनको परिणाम भएको उल्लेख गरे ।
साधारणसभाले आगामी दिनमा सहकारीलाई अझ सुदृढ, पारदर्शी र सदस्य–केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गरेको छ । ‘जिल्लामै उत्कृष्ट सहकारी संस्थाका रूपमा टकसारले आफ्नो क्षमता र विश्वास आर्जन गरिरहेको छ,’ जोशीले भने ।
