अभिभावकलाई अभिमूखिकरण

नेपालगन्ज स्वीमिङ्ग क्लबले आकार फाउण्डेसनसँगको सहकार्यमा अटिजम भएका बालबालिकाहरूलाई हेरचाह सम्बन्धी अभिभावक अभिमूखिकरण आयोजना गरेको छ ।

सोमबार किड्स किङडम नेपालगन्जका अध्यक्ष माधव अधिकारी, वरिष्ठ चिकित्सक डा. बद्री चापागाई, प्रशिक्षक प्रिसिमा थापा (असीमा) लगायतले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे ।

क्लब अध्यक्ष केशव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले अभिमूखिकरणको महत्वबारे प्रकाश पारे ।

‘बाँकेमा अटिजम भएका बालबालिकाको अवस्थामा खासै कसैले ध्यान दिएको देखिएन,’ अधिकारीले सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै भने, ‘अझै उनका अभिभावकको अवस्था त झनै कष्टकर पो छ, त्यसैले पनि यो कार्यक्रम निकै महत्वपूण छ ।’

कार्यक्रममा अटिजम स्पेक्ट्रम डिसअर्डरबारे विस्तृत छलफल, व्यवहार व्यवस्थापनका उपाय, घरमै गर्न सकिने थेरापी (भाषा, संवेदनशीलता, व्यवहार समर्थन तथा दैनिक क्रियाकलाप), दीर्घकालीन चुनौती र व्यवस्थापन रणनीति तथा हेरचाहकर्ताको स्व–हेरचाहजस्ता विषय समेटिएका छन् ।

‘मनोवैज्ञानिक तथा ईसीडी परामर्शदाता, एबीए र सीबीटी थेरापी प्र्याक्टिसनर प्रिसिमा थापा (आसिषा) ले सहजीकरण गर्ने कार्यक्रम निःशुल्क रहेको छ,’ वरिष्ठ उपाध्यक्ष अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘बिहान १०ः३० देखि साँझ ४ः०० बजेसम्म चल्ने कार्यक्रममा अभिभावक, शिक्षक तथा हेरचाहकर्ताको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ ।’

कार्यक्रमलाई आकार फाउण्डेशन मोरङ नेपालले सहयोग गरेको छ भने लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र लायन्स क्लब अफ नेपालगन्ज युथ सहकार्यमा छन् । ‘अटिजमप्रति बुझाइ बढाउँदै बालबालिकालाई स्वीकार्ने र सशक्त बनाउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास गरिएको छ,’ आयोजनाको उद्देश्यबारे क्लबका वरिष्ठ उपाध्यक्ष अधिकारीले भने ।

Exit mobile version