नेपालगन्ज–११ले दियो स्थानीय सरकारलाई उपाधी उपहार

बाँकेको फुटबल इतिहासलाई नै उचाई दिने गरी शहिद स्मारक सी डिभिजन लिगमा उपाधी विजेता बन्न सफल नेपालगन्ज–११ स्पोर्टिङ क्लबले विजेता शिल्ड स्थानीय सरकारलाई उपहार दिएको छ ।

उपाधी लिएर गृहनगर नेपालगन्ज आएको टिमले खेलाडी सहित नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर, डुडुवा र खजुरालाई शिल्ड उपहार दिएको हो ।

कोहलपुर स्थित शिखा एकेडेमी विजेता खेलाडी टिमलाई मंगलबार स्वागत सम्मान गरेपछि हर्षोल्लासपूर्वक कोहलपुर पुगेको टिमलाई उपप्रमुख संगीता सुवेदीले स्वागत, सम्मान गरिन् ।

त्यसपछि नेपालगन्ज उपमहानगरपालिका पुगेको टिमलाई नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई र प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले स्वागत सम्मान सहित शिल्ड ग्रहण गरे । ‘स्थानीय सरकारले यो जितको अपनत्व लिउन् भन्ने हाम्रो उद्देश्य हो’, नेपालगन्ज–११ का अध्यक्ष घनश्याम थापाले भने । टिम प्रशिक्षक जनक केसीले जितलाई उपलब्धीका रूपमा लिंदै स्थानीय सरकारले खेलाडी उत्पादनका लागि प्रशिक्षण र प्रतियोगितामा योगदान दिने विश्वास गरिएको बताए ।

Exit mobile version