भेरीमा जन्मदै बच्चाको सिकलसेल जाँच

भेरी अस्पताल नेपालगन्जमा बच्चा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । अस्पतालका चिकित्सक समेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले यसले समयमै समस्या पत्ता लाग्दा उपचारका समयमै सुरु गर्न सकिने बताए । ‘रोग नै पत्ता नलागेर बर्षौ मानिसहरूले दुःख पाउँदै आएका छन्, जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या छ, छैन एकिन गर्न सकिने भएको छ’, डा. पाण्डेले भने ।

डा. राजन पाण्डेले थारु समुदायमा जनस्वास्थ्यको समस्याका रूपमा रहेको सिकलसेल अन्य जातजातिमा पनि भेटिने गरेको बताए । उनले एक बर्षपछि परीक्षण गरेर सिकलसेल थाहा पाउने मेसिन यसअघि रहेपछि २४ घण्टामै पत्ता लाग्ने मेसिन नेपालमा भेरी अस्पतालमा मात्रै सञ्चालनमा आएको जानकारी दिए । ‘अब भेरी अस्पतालमा जन्मने बच्चाको अभिभावकको अनुमतिमा निःशुल्क परीक्षण हुन्छ, अन्य अस्पतालमा जन्मेका बच्चाको पनि भेरी अस्पतालमा परीक्षण गराउन सकिनेछ’, डा. पाण्डेले भने ।

सिकलसेल समयमै पत्ता नलाग्दा कतिपय बच्चाको नवजात अवस्थामा ज्यान जाने गरेको डा. पाण्डे बताउँछन् । ‘अब नवजातमा सिकलसेल देखिए ३ महिनापछि पाँच बर्षसम्म थप खोप र औषधी सेवन गराउनु पर्छ’, डा. पाण्डेले भने ।

‘जन्मदै सिकलसेल देखिएमा बच्चा ९ महिना भएपछि पहिलो दादुरा रुबेला खोप लगाउनले समयमा पुनः परीक्षण गरी सिकलसेल, बिटा थालेसेमिया लगायत अन्य हेमोग्लोबिनोप्याथी भए, नभएको थप पुष्टि हुने व्यवस्था मिलाइएको छ’ , भेरी अस्पतालका चिकित्सक डा. पाण्डेले भने ।

डा. पाण्डेले सिकलसेल, थालेसिमिया नियन्त्रण, न्यूनीकरणका लागि सचेतनाको आवश्यक रहेको बताए । ‘पश्चिम नेपालमा सिकलसेलको समस्या बढी छ’, उनले भने, ‘सिकलसेल, थालेसिमिया देखिने मध्ये अधिकांस थारु समुदाय रहेपनि अन्य समुदायमा पनि फाट्टफुट्ट देखिने गरेको परीक्षण आवश्यक छ ।’

डा. पाण्डेले भेरी अस्पतालमा प्रिनेटल डाग्लोसिस, बोनम्यारो ट्रान्सप्लान्टेसन बाहेक हेमोग्लोबिनोप्याथी कम्प्रेसिभ केयरका धेरै सुविधाहरू भेरी अस्पताल नेपालगन्जमा रहेको जानकारी दिएका छन् ।

Exit mobile version