संञ्चारिका समूह बाँकेको आयोजनामा ‘जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूको मनोविज्ञान’ विषयक कार्यक्रम बुधवार नेपालगन्जमा आयोजना भएको छ ।
कार्यक्रममा प्यानलिस्टका रूपमा कोहलपुर नगरपालिका उपप्रमुख सङ्गीता सुवेदी, कोहलपुर नगरपालिका वडा नं. ११ की वडाध्यक्ष कल्पना शर्मा, पूर्व स्वास्थ्य राज्यमन्त्री हसिना खान, प्रदेशसभा सदस्य सुशीला बादी, राजनीतिक विश्लेषक अर्जुन पोखरेल तथा जेन्जी प्रतिनिधिका रुपमा वक्ता प्रतिक्षा बस्नेत सहभागी थिए ।
कार्यक्रमको सहजीकरण संञ्चारिका समूह लुम्बिनी प्रदेशकी उपाध्यक्ष रूपा गहतराजले गरिन् ।
कार्यक्रमको सुरुवातमा जेन्जी प्रतिनिधि, अतिथि वक्ता प्रतिक्षा बस्नेतले ‘जेन्जी आन्दोलन के हो ? यो विद्रोह हो कि आन्दोलन ?’ भन्ने विषयमा आफ्नो धारणा प्रस्तुत गरिन् । ‘यसलाई ‘जेन्जी आन्दोलन’ भनेर नाम दिइयो, तर हामीले त यसलाई एउटा अभियान (क्याम्पेन) को रूपमा शान्तिपूर्ण ¥याली निकालेका थियौँ। सामान्य प्रश्नहरूप्रति सरकार जवाफदेही बनोस् भन्ने उद्देश्यले हामी विद्यार्थी सडकमा निस्किएका थियौँ। तर त्यसलाई आन्दोलनको रूप दिइयो र दोषारोपण जेन्जी समूहलाई गरियो ।’
आयोजक सञ्चारिका समूहका अध्यक्ष पवित्रा परियारका अनुसार, कार्यक्रममा जेन्जी आन्दोलनपछि महिला जनप्रतिनिधिहरूमा देखिएको मनोवैज्ञानिक प्रभाव, राजनीतिक दबाब, जिम्मेवारी र चुनौतीहरूबारे गहन छलफल गरिएको थियो ।
