नेपालगन्जमा ह्वात्तै चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार, शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियस रह्यो । बाक्लो हुस्सु र कुहिरोका कारण तराईको जनजीवन प्रभावित छ भने शुक्रबार नेपालगन्ज विमानस्थलमा उडान र अवतरण हुन सकेन ।
चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध गर्न थालेको छ । चिसो बढेर शीतलहर सुरु भएपछि दुई दिनभित्रै सार्वजनिक स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
डिभिजन वन कार्यालय, बाँकेमार्फत विभिन्न सामुदायिक वनमा रहेका सुकेका दाउरा खरिद गरेर ल्याएर आगो ताप्नका लागि वितरण हुने जानकारी दिँदै उहाँले वडाको माग अनुसार दाउरा वितरण हुने बताए । “हामी अहिले पनि छलफलमै छाँै, वडाको मागअनुसार कहाँ आवश्यकता पर्छ त्यहाँ वितरण हुन्छ”, उनले भने । यसबाहेक चिसोबाट बच्नका लागि सचेतनामूलक प्रचार सामग्री निर्माण गरी स्थानीयलाई जानकारी दिइने सम्पर्क व्यक्ति श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङले विपद् प्रतिकार्य योजना निर्माण गरेर स्थानीय तह र सरोकार भएकालाई पत्राचार गरिएको जानकारी दिए । यसवर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।






























