कौशिलानगरमा पौष १० देखि चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदै

कोहलपुर नगरपालिकाभित्रका वडाहरूको सक्रिय सहभागितामा चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता यही पौष १० गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १, कौशिलानगरस्थित एभरेष्ट युथ स्पोट्र्स क्लबले वडा कार्यालयको सहयोगमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताले नगरस्तरका युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्दै स्वस्थ प्रतिस्पर्धा र खेल भावना विकास गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे जानकारी दिँदै क्लबका अध्यक्ष सुमन पौडेलले बिहीबार कोहलपुर नगरपालिकाअन्तर्गतका सबै वडाका टिमहरूलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेका छन् ।

क्लबले प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूलाई पौष ८ गते साँझसम्म टिम दर्ता गरिसक्न सूचना जारी गरेको छ ।

नकआउट विधिमा सञ्चालन हुने चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन पौष १० गते दिउँसो १ बजे कौशिलानगरस्थित क्लबको खेलमैदानमा हुने एभरेष्ट युथ स्पोट्र्स क्लबले जनाएको छ।

यसैबीच, क्लबका सचिव सरोज केसीले प्रतियोगितासँगै कौशिलानगर गाउँमा स्वागतद्वार निर्माण गर्ने योजना पनि अघि बढाइएको जानकारी दिएका छन् । उनले फुटबल प्रतियोगिताले स्वागतद्वार निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताए।

सचिव केसीले प्रतियोगिता तथा स्वागतद्वार निर्माणलाई सफल बनाउन कौशिलानगरवासी, स्वदेश तथा विदेशमा रहनु भएका महानुभाव र शुभचिन्तकहरूलाई सहयोगका लागि अनुरोध समेत गरेका छन् ।

Exit mobile version