पुस्तक तथा स्टेशनरी व्यवसायीले पुस्तक बिक्रीमा कमी आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरू पुस्तक बिक्रीमा कमी आउँदा व्यवसायी पलायन भैरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
शनिबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको १८औं साधारणसभा र ९औं जिल्ला अधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रतिनिधिमूलक व्यवसायीहरूले पुस्तक विक्रीमा कमी आएको, राज्यबाट पुस्तक व्यवसायीलाई संरक्षण अभाव रहेको धारणा राखेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका अध्यक्ष सागर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि, महासंघका केन्द्रीय उपाध्यक्ष बुद्धि प्रसाद अधिकारीले व्यवसायी पलायन प्रति चिन्ता व्यक्त गरेका थिए । उनले पछिल्लो समय पुस्तक बिक्री घटेको उल्लेख गर्दै त्यसले व्यवसायी मर्कामा परेको बताए ।
केन्द्रीय उपाध्यक्ष अधिकारी राज्यको पुस्तक व्यवसाय अनुकुल नहुँदा राज्यबाट समेत पुस्तक व्यवसायी च्यापिएको बताएका थिए । उनले निजी क्षेत्रबाट बिक्री हुने कतिपय पुस्तक जनक शिक्षा सामाग्रीबाट बिक्री हुन थालेको बताएका थिए । ‘लोकसेवा लगायतका पुस्तकको बिक्रीमा ह्वात्तै कमी आएको छ’, उनले भने । प्रकाशकहरूसँग पनि समस्या रहेको उल्लेख गर्दै उपाध्यक्ष अधिकारीले समाधानका लागि महासंघले नियमित छलफल र बैठक गरिरहेको जानकारी दिएका छन् ।
उपाध्यक्ष अधिकारीले बजार सुधार हुने अपेक्षा रहेको बताउँदै त्यसका लागि महासंघले पहल गरिरहेको बताएका थिए । उनले केन्द्रले पुस्तक तथा स्टेशनरी व्यवसायीका हकहितमा निरन्तर पहल प्रयास गरिरहेको उल्लेख गर्दै महासंघको अधिवेशन आगामी माघ १६ र १७ गते काठमाडौंमा हुने भएकाले त्यसको तयारीमा जुटेको जानकारी दिए ।
उपाध्यक्ष अधिकारीले जनक शिक्षा सामाग्रीबाट पुस्तक समयमै प्राप्त गरी विद्यार्थीको हातहातसम्म पुर्याउने कार्यका लागि जनक शिक्षालाई समयमै घच्घच्याउने कार्य भैरहेको बताएका थिए ।
त्यस्तै, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेका संस्थापक समेत रहेका अग्रज व्यवसायी बसन्त लामिछानेले कतिपय व्यवसायी पलायन भएको, ऋणका कारण घर समेत लिलामी भएको अवस्था औंल्याउँदै वर्तमान समयमा व्यवसायी बीच एकता आवश्यक रहेको औंल्याएका थिए । उनले महासंघमा राजनीति हुन नहुने धारणा राख्दै पुस्तक तथा स्टेशनरी व्यवसायीको हितका लागि सबै एक्यबद्ध भई लाग्नुपर्ने धारणा राखेका थिए ।
महासंघ बाँकेका सचिव मोहन चन्दले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य मन्दिरा पाण्डे, दाङका अध्यक्ष सन्तोष कुमार आचार्य, बर्दिया अध्यक्ष लवेश झा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले बोलेका थिए ।
अधिवेशनले शनिबार नै नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढाउने बताइएपनि सहमति नहुँदा स्थगित भएको छ । ‘अर्को सूचना जारी भएपछि निर्वाचन प्रक्रिया अघि बढ्छ’, सचिव चन्दले भने ।






























