बार डेको अवसर पारेर सोमवार नेपालगन्ज उच्च अदालत बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण र सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीको प्रमुख आतिथ्यमा अध्यक्ष पवन कुमार गुप्ता नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणसँगै सपथ गराइएको हो । निर्वाचन संयोजक गणेश रेग्मीले नवनिर्वाचित टिमलाई प्रमाणपत्र प्रदान गरेलगत्तै अध्यक्ष चित्र बहादुर शाही नेतृत्वको कार्यसमितिले नयाँ टिमलाई पदभार हस्तान्तरण गरेको थियो भने निर्वाचन समितिले सपथ गराएको थियो ।
प्रमुख अतिथि ज्ञवालीले न्यायाधीश ज्ञवालीले बार र बेन्चबिच जहिले पनि सुमधुर र सुदृढ सम्बन्ध आवश्यक रहेकोमा जोड दिए ।
अनुसन्धान फितलो हुँदा न्याय सम्पादनमा असर पर्ने भन्दै न्यायाधीश ज्ञवालीले अनुसन्धानलाई परिपक्व बनाउन सके मात्र न्याय सम्पादन उत्कृष्ट हुने बताए ।
कमजोर वा अपर्याप्त अनुसन्धानले अदालतमा गलत प्रमाण पुग्ने र निर्दोष व्यक्तिले सजाय पाउने वा दोषीले उन्मुक्ति पाउने सम्भावना बढ्ने उनको भनाइ छ । उनले जनमानसले यो विषय नबुझ्दा अदालतप्रतिको धारणा र बुझाई फरक हुने गरेकोले सर्वसाधारणलाई यो विषयलाई बुझाउन जरुरी रहेको बताए ।
कार्यक्रममा जिल्ला न्यायाधीश दीपक कुमार दाहाल, नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश पार्षद् ईश्वरी प्रसाद ज्ञवाली, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरे ।
गुप्ताको अध्यक्षतामा नेपालगन्ज उच्च अदालत बारमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । उपाध्यक्ष विजय कुमार शर्मा, सचिव कुसुमा सुवेदी र कोषाध्यक्षमा हरिश्चन्द्र सिजापति निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा हिरा बहादुर श्रेष्ठ, राम कुमार दीक्षित, समसुद्धिन इद्रिसी, विनोद कार्की, यशोदा कुमारी उपाध्याय, राधेश्याम थारु, नरेन्द्र न्यौपाने, महेश कुमार चौधरी र सुरेश कुमार गौतम निर्वाचित भएका छन् ।
