बाँके जिल्लामा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गरेको छ। चालकको दृश्य अवरोध (Driver visibility obstruction) तथा विपरीत दिशाबाट आउने सवारीका कारण हुने तेज बत्ती (Glare causing lights) का कारण धेरै दुर्घटना हुने देखिएपछि अभियान थालिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै एक हप्ते साप्ताहिक अभियान सञ्चालन गरेको थियो। उक्त अभियानका क्रममा ६८५ सवारी साधनलाई कारवाहीको दायरामा ल्याइएको छ।
कारवाहीका क्रममा सवारी चालकहरूले सार्वजनिक तथा निजी सवारीमा आफूखुसी जडान गरेका दृश्य अवरोध गर्ने फुल, झिलिमिली (झिल्लर) तथा माला जस्ता सामग्री २०० थान नियन्त्रणमा लिइएको छ। त्यसैगरी, तेज प्रकाश दिने फोकस लाइट, फग लाइट तथा शो लाइट गरी ११७४ थान तथा तिनमा प्रयोग भएका तारसमेत प्रहरीले जफत गरेको जनाएको छ।
ट्राफिक प्रहरीले यस्ता उपकरणले दुर्घटनाको जोखिम बढाउने भएकाले आगामी दिनमा पनि यस्ता गतिविधि विरुद्ध कडाइका साथ निगरानी र कारवाही जारी रहने जनाएको छ।
