नेपाल नेत्र ज्योति संघ बाँके अन्तर्गतको फत्तेबाल आँखा अस्पताल नेपालगन्जले चार दशकमा २९ लाख बढीको आँखा उपचार गरेको छ ।
नेपाल नेत्र ज्योति संघ बाँके शाखाको ३२औं जिल्लासभामा फत्तेबाल आँखा अस्पतालको प्रस्तुत बार्षिक प्रतिवेदनमा आ.व. २०४२÷०४३ देखि २०८१÷०८२ सम्म २९ लाख २९ हजार ५ सय ६३ आँखाको बिरामीको परीक्षण गरिएको उल्लेख छ ।
संस्थाका सभापति रतन कुमार टण्डनको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्ति श्रेष्ठले आ.व. २०४२÷०४३ देखि २०८१÷०८२ सम्म २ लाख ९१ हजार ५ सय ३३ आँखाका बिरामीको शल्यक्रिया गरिएको जानकारी दिइन् ।
सचिव श्रेष्ठले गत आ.व २०८१÷०८२ मा मात्रै १ लाख ३७ हजार ७ सय ३१ को आँखा परीक्षण गरिएको र ९ हजार ७ सय ८८ को आँखाको शल्यक्रिया गरिएको जानकारी दिइन् । अस्पतालले आ.व. २०८१।०८२ मा अस्पतालमा १ लाख ५ हजार ७ सय ९३ सामुदायिक आँखा उपचार केन्द्रहरूमा १० हजार ४ सय ९२ र बाह्य कार्यक्रममा २१ हजार ४ सय ४६ जनाको आँखा परीक्षण गरेको हो ।
१० बेड क्षमताबाट सुरु भएको आँखा अस्पतालमा हाल २ सय ५० बेड रहेका छन् । त्यस्तै बर्दियामा अस्पतालको चार वटा उपकेन्द्रहरू रहेका छन् ।
‘अन्धोपन यस बर्ष बाँकेका सबै विद्यालयहरूमा आँखा जाँच शिविर सञ्चालन गर्ने योजना छ’, सचिव श्रेष्ठले भनिन् । उनले आ.व. २०८१।०८२ मा विद्यालयका १ हजार ५ सय ६७ विद्यार्थीको आँखा जाँच गरी १ सय १० जनालाई निःशुल्क चश्मा वितरण गरिएको बताइन् ।
अस्पतालकी सचिव श्रेष्ठले विगत २४ बर्षदेखि कुनै पनि दातृ निकायको सहयोग अस्पतालले नपाउँदा सञ्चालन चुनौतिपूर्ण भएको बताइन् ।
कार्यक्रमका वक्ताहरूले संस्थाले आँखा उपचारको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
कार्यक्रममा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. देवराज भारतीले आँखा स्वास्थ्यको विषयमा प्रस्तुति राखेका थिए ।
कार्यक्रम बीच कार्यक्रमका प्रमुख अथिति सहायक प्रमुख जिल्ला अधिकारी महेश गुरुङ्ग लगायत सुरक्षाकर्मीहरूले गत निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
संस्थाका उपभासपति केशवराम बर्माले स्वागत गरेको कार्यक्रममा प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्मा, विभिन्न संघ, संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
हाल अस्पतालले आंखासम्बन्धी सबै रोगहरूको परीक्षण र औषधि उपचार गरिरहेको छ । जलबिन्दुको अप्रेशन, न्यून दृष्टि परामर्श सेवा, मोतिबिन्दु अप्रेशन पश्चात देखापर्ने जालीको याग लेजरद्वारा उपचार, मोतिबिन्दुको बिना टांका तथा फेको प्रविधिबाट अप्रेशन, डेढो आंखाको अप्रेशन जस्ता मेजर अप्रेशन सेवा अस्पतालबाट प्रदान हुन गरेको छ ।
इन्ट्रोपियन, आंखामा मासु पलाएको अप्रेशन, आंखाको नानी मर्मत, बालबालिकाहरूको आंखा उपचारका लागि विशेष विभाग, बन्द आंशुनलीको अप्रेशन तथा उपचार, दृष्टिपर्दा सम्बन्धि विरामीहरूको शल्यक्रिया सेवा र एभाष्टिन ईन्जेक्शन सेवा लगायतको रेटिना तथा अकुलोप्लाष्टिसम्बन्धी विशिष्टीकृत सेवा सहितको सेवा प्रदान भैरहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालमा नवनिर्मित शल्यक्रिया भवनमा ५ वटा मोडुलर शल्यक्रिया कक्षको निर्माण भैरहेको अस्पतालको बार्षिक प्रतिवेदनमा उल्लेख छ । ‘यस अर्थिक वर्षभित्रमा उक्त मोडुलर अप्रेशन थिएटरमा आवश्यक थप उपकरण तथा फर्निचरको ब्यवस्थापन गरी संचालनमा ल्याइनेछ’, सचिव श्रेष्ठले भनिन्, ‘मोडुलर अप्रेशन थिएटरको संचालनपछि मोतिबिन्दु, रेटिना, अकुलोप्लाष्टि, कर्निया आदि सबै किसिमको बिशिष्टीकृत सेवाको अप्रेशन गर्न सुबिधाजनक र उच्च गुणस्तरीय हुनेछ ।’
नेपालमा आंखा उपचार सम्बन्धी दक्ष प्राबिधिकहरुको कमी रहेकोले सोलाई आपूर्ति गर्न र अस्पतालको सेवालाई विस्तारित गर्न सिटीईभिटीको सम्बन्धनमा कलेज अफ अफ्याल्मिक हेल्थ साइन्सको संयुक्त साझेदारीमा गत १२ वर्षदेखि नेत्र सहायक स्तरको ३ वर्षे शैक्षिक कार्यक्रम सफलतापूर्वक संचालित भैरहेको अस्पतालको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
‘आगामी दिनमा स्नातक र स्नातकोत्तर तहको कोर्ष बी अप्टोमेट्री र एम अप्टोमेट्री समेत संचालन गर्ने प्रयास भइरहेको छ’, सचिव श्रेष्ठले भनिन् ।
