बाँकेको खजुरा गाउँपालिका–२ स्थित योगिनी माविको खेल मैदानमा जारी दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको आज आइतवार फाइनलमा सितापुर युनाइटेड र राईजिङ स्टार क्लब उपाधिका लागि भिड्ने भएका छन् ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा सितापुर युनाइटेडले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई १–० ले हरायो। खेलको २६औँ मिनेटमा शम्भु थारुले गरेको गोल निर्णायक बन्यो । खेलमा सितापुरका कप्तान राम ओली प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा राईजिङ स्टार क्लबले योगिनी ‘बी’ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीमा राईजिङ स्टारका प्रख्यात परियार, क्षितिज रानामगर र समिर कसेराले गोल गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर गोकर्ण पुन प्लेयर अफ द म्याच बने ।
प्रतियोगिता संयोजक गणेश राईका अनुसार, उपाधि विजेताले ५१ हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै उत्कृष्ट खेलाडीसहित विभिन्न विधामा पनि पुरस्कार प्रदान गरिने संयोजक राईले बताए ।
