नेपालगन्जको शीतलनगरस्थित त्रिशक्ति मन्दिरमा संगीतमय सात दिने श्रीराम कथा तथा हनुमान कथा वाचन आयोजना भएको छ ।
आयोजकका अनुसार, धार्मिक वातावरणमा भजन–कीर्तनसहित सञ्चालन भइरहेको कथामा भैया राजेन्द्र जीले वेद व्यासका रूपमा कथा वाचन गरिरहेका छन् ।
कार्यक्रम आयोजक मारवाडी सेवा समाजका अध्यक्ष विजय कुमार गुप्ताले श्रद्धालु भक्तजनलाई कथा श्रवणका लागि उपस्थित भई पुण्य लाभ लिन आग्रह गर्दै सात दिनसम्म चल्ने यस कथामा दैनिक रूपमा भक्तजनको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको बताए ।
‘जीवनका लागि निकै महत्वपूर्ण आध्यामिक ज्ञान व्यासबाट श्रवण गर्न सकिन्छ,’ समाजसेवी गुप्ताले आयोजनाको विशेषताबारे भने, ‘यसको श्रवणमात्रले पनि मनोभावनालाई असल दिशा दिन्छ ।’
शनिवार ठुलो संख्यामा भक्तजनहरुले श्रीराम कथा र हनुमान कथा श्रवणसँगै संगीतमय भजन किर्तनमा नृत्य गरेका थिए । हरेक साँझ कथा वाचनपछि आयोजना गरिने आरती तथा प्रसाद वितरणमा पनि भक्तजनहरुको उत्साह उत्तिकै देखिएको मारवाडी सेवा समाजका अध्यक्ष विजय कुमार गुप्ताले बताए । विहीवारदेखि आरम्भ भएको संगीतमय कथा वाचन बैशाख २ गतेसम्म चल्नेछ ।
