गतसाता एउटा भिडियो भाइरल भयो, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलाई उनको तत्कालिन निर्वाचन क्षेत्र प्यूठानमा प्रश्न गरियो किन आएको ? जुन प्रश्नले नेता गौमत भड्किएनन्मात्रै आक्रोशित पनि भए । त्यसपछि उनको प्यूठानमा राजनीतिक सम्भावना सकिएको विश्लेषण सार्वजनिक रुपमै गरियो ।
नेकपाले बर्दियाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ६ जनाको नाम सिफारिस गरेसँगै गौतमको राजनीतिक भविष्यलाई लिएर पार्टीभित्रै चर्चा फेरि चुलिएको छ । विशेषगरी पूर्वगृहमन्त्री तथा संयोजक प्रचण्ड निकट मानिने शक्ति बस्नेत सोही क्षेत्रबाट सिफारिस भएपछि गौतमको ‘विचल्ली’ सुरु भएको टिप्पणी थालिएको हो ।
पार्टीले क्षेत्र नम्बर १ बाट गौतमसँगै शक्ति बस्नेत, रेशम अधिकारी, सन्तबहादुर थारु, इन्दिरा सुवेदी र बालकृष्ण खनालको नाम सिफारिस गरेको छ । तर पार्टी नेतृत्वको रोजाइमा बस्नेत अगाडि देखिएपछि गौतम कमजोर अवस्थामा पुगेको विश्लेषण हुन थालेको हो । जाजरकोटबाट निर्वाचित हुँदै आएका बस्नेतले बैकल्पिक क्षेत्रका रुपमा बर्दिया आएका छन् ।
स्रोतका अनुसार शक्ति बस्नेत बर्दियाबाट उम्मेदवार बन्ने निश्चितजस्तै भएपछि गौतमले अन्तिम समयमा बाँके क्षेत्र नम्बर ३ बाट पनि आफ्नो नाम सिफारिस गराउन निकै कसरत गरेका थिए । तर त्यहाँ पनि अनुकूल वातावरण नबनेपछि उनी दुविधामा परेका हुन् ।
पार्टीभित्र बस्नेतलाई पार्टी संयोजक प्रचण्डका ‘खास व्यक्ति’ का रूपमा हेरिने भएकाले टिकट वितरणमा उनी नै अगाडि पर्ने सम्भावना बलियो देखिएको छ । यसले लामो समयदेखि राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिएका वामदेव गौतमलाई पछाडि धकेलिएको संकेत गरेको नेताहरू बताउँछन् ।
बर्दियामा टिकटको दौड तीव्र बन्दै जाँदा वामदेवको राजनीतिक पकड कमजोर बन्दै गएको र पार्टीभित्रै उनको हैसियत खुम्चिँदै गएको चर्चा पनि भइरहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा नेकपाभित्रको शक्ति सन्तुलन कसको पक्षमा जान्छ भन्ने चासो बढ्दै गएको छ ।
