राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष कुमार झाले आफ्नो पार्टीले आगामी निर्वाचनबाट ‘सत्ता पल्टाउने’ घोषणा गरेका छन् । ‘तरपनि प्रतिशोधको राजनीति गर्दैनौं’, प्रवक्ता झाले मंगलबार नेपालगन्जमा आयोजित रास्वपाको नगर अधिवेशन उद्घाटन गर्दै भने, ‘हामी देशको अवस्था परिवर्तन गर्न दृढ संकल्पित छौं ।’
पार्टी केन्द्रीय सदस्य हरि ढकालले पुराना र परम्परागत पार्टीलाई पूर्णत विफल पारेर रास्वपाले युवा भावना र जनताको चाहना बमोजिमको काम गर्ने विश्वास व्यक्त गरे । रास्वपा नेपालगन्जका नगर अध्यक्ष नविन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी तिवारी, प्रदेश महासचिव निल राज अधिकारी, पार्टी नेता डा. राजकुमार सुवेदी, क्षेत्रीय सभापति विवेक श्रेष्ठ, अर्का नेता देबेन्द्र
नाथ शुक्ल, जिल्ला अध्यक्ष हरिपाल सिंह केसी लगायतले बोलेका थिए ।
जिल्ला नेता बुद्धिसागर अधिकारीले सञ्चालन गरेको अधिवेशन उद्घाटन सत्रमा प्रतिष्ठित व्यवसायिक घरानाका आनन्द मोहपाल, युवा कवि कपिल अञ्जान लगायतका विभिन्न व्यक्तिहरू पार्टी प्रवेशको घोषणा गरेका थिए । उनीहरूलाई पार्टी नेताले पार्टी टिकटले सम्मान गरे ।
मंगलबार नै सकिएको नगर अधिवेशनले नविन खड्काको सभापतित्वमा १९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । रास्वपा नेपालगन्ज नगर समितिको उपसभापतिमा अर्चना पोखरेल, सचिव घनश्याम भट्ट, सहसचिव नितु कुमारी कुँवर क्षेत्री छन् । सदस्यहरूमा श्रीधर पौडेल, राधेश्याम यादव, विशाल बर्मा, स्नेह प्रसाई, रमेशकेशर खनाल, कृष्ण प्रसाद मरासिनी, जीवन सिंह परियार, असलम अली कवडिया, गीता पौडेल, अलि अहमद हलवाई, कलावति श्रेष्ठ, सीमिता श्रेष्ठ, सञ्जय कुमार शर्मा, इन्द्र बहादुर खत्री र तिरथराम यादव निर्वाचित भएको अध्यक्ष खड्काले जानकारी दिए ।
अधिवेशन अघि रास्वपाका नेताहरू जेन्जी विद्रोहका क्रममा सहादत प्राप्त नेपालगन्जका दुई सहिद परिवारका घरमा पुगेर भेटघाट गरेको पार्टी क्षेत्रीय सभापति विवेक श्रेष्ठले जानकारी दिए ।
