बन्यजन्तुको आक्रमणमा बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा मंगलवार एक किशोरीको ज्यान गएको छ । घाँस काट्न गएकी १७ वर्षीया ति किशोरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार, कोठियाकी बिनीता परियारलाई सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले जंगलभित्र लगेको थियो । आमा छोरी लगायत पाँच जना वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरेको हो ।
उकालोमा आमालाई तान्दै गर्दा पछाडिबाट छोरी बिनीतालाई बाघले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताए । घटनाको बारेमा थाहा पाउन साथ खोजतलास गर्दा परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा फेला पारिएकी किशोरी उपचारको लागि बर्दिया अस्पतालमा पु¥याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्रबहादुर मल्लले जानकारी दिए ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल चौधरीले प्रारम्भिक अनुसन्धानमा पाटेबाघ भएको अनुमान गरिएको बताए । पछिल्लो समयमा बर्दियामा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेका संख्या बढ्दै गएको छ । पुस महिनाभित्र नै हाल सम्म तीन जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चालु आर्थिक वर्षको हालसम्म चितुवा र बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको जिल्ला वन कार्यालयको तथ्याङ्क छ ।

































