मानव बेचबिखन विरुद्ध अन्तरक्रिया, यस्तो छ तथ्यांक

माइती नेपालगन्जले बुधबार मानव बेचविखन तथा ओसारपोर विरुद्ध नेपाल पत्रकार महासंघ बाँके सँगको समन्वयमा अन्तरक्रियाको आयोजना गर्यो । कार्यक्रममा मानव बेचविखनको वर्तमान अवस्था, चुनौती र रोकथामका उपायबारे छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै माइती नेपाल नेपालगन्जका संयोजक कोइरालाले माइती नेपालले सामुदायिक तहमा जनचेतना फैलाउनेदेखि लिएर राज्यको पुनःसंरचना पश्चात् स्थानीय तहमा मानव बेचविखन विरुद्धका नीति तथा नियम निर्माणमा प्राविधिक सहयोग गर्दै आएको बताए । सीमा क्षेत्रमा सूचना, परामर्श तथा रोकथामका कार्यक्रम सञ्चालन गर्दै सम्भावित जोखिममा रहेका महिला तथा बालबालिकालाई सुरक्षित गर्ने कार्य निरन्तर भइरहेको उनले बताए ।

संयोजक कोइरालाका अनुसार, रोकथामका प्रयासका बाबजुद पनि विभिन्न तरिकाबाट बेचविखनमा परेका व्यक्तिहरूको उद्धार कार्यलाई निरन्तरता दिइँदै आएको छ । भारतमा समेत आफ्नै कार्यालय स्थापना गरेर माइती नेपालले सीमा पार हुने मानव बेचविखन नियन्त्रणमा भूमिका खेल्दै आएको छ । माइती नेपालले उद्दारपछि पीडितहरूको सामाजिक पुनःस्थापनालाई उच्च प्राथमिकतामा राख्दै आएको संयोजक कोइरालाले जानकारी दिए । उद्धार भएका महिला तथा बालबालिकालाई मनोसामाजिक परामर्श, कानुनी सहयोग, स्वास्थ्य उपचार प्रदान गरिनुका साथै आवश्यक परे शिक्षा, सीप विकास र पारिवारिक पुनःस्थापनामा समेत सहयोग गर्दै आएको उनले बताए ।

यसै क्रममा मानव बेचविखन विरुद्ध अन्तरदेशीय समन्वय आवश्यक रहेको उल्लेख गर्दै माइती नेपालले नेपाल तथा छिमेकी मुलुक भारतका सरकारी तथा गैरसरकारी संघसंस्थाको सहकार्यमा अन्तरदेशीय कार्यशाला गोष्ठीहरू समेत आयोजना गर्दै आएको जानकारी दिइयो ।

पछिल्लो समय विकाससँगै भित्रिएका प्रविधिहरू मानव बेचविखनको माध्यमका रूपमा प्रयोग हुन थालेको माइती नेपालले जनाएको छ । कानुन तथा नियम राम्रो भए पनि नेपाल अझै मानव बेचविखनको उच्च जोखिममा रहेको संयोजक कोइरालाको भनाइ छ । बाँके जिल्ला मानव बेचविखनको केन्द्रविन्दु जस्तै भएकाले राज्यको विशेष ध्यान आवश्यक रहेको उनले बताए ।

स्थानीय तहले होटल, खाजा घर तथा वैश्य मनोरञ्जन क्षेत्र व्यवस्थापनका लागि बनाएको अनुगमन निर्देशिका कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले मानव बेचविखन नेपालजस्तो विकासशील देशको मात्र नभई अन्तर्राष्ट्रिय स्तरको समस्या भएको बताए। यस्ता कुक्रियाकलाप रोक्न सचेतनामूलक गतिविधि आवश्यक रहेकोमा उनले जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका प्रतिनिधि गोविन्द आचार्य, बाँकेका पूर्व अध्यक्ष निरज गौतम, प्रेस युनियन अध्यक्ष प्रियस्मृति ढकाल, प्रेस चौतारी अध्यक्ष कमल डाँगी लगायत दुई दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ बाँकेका सचिव कृष्ण वलीले गरेका थिए ।

हराएका मध्ये एक तिहाई पनि फेला नपर्ने गरेको माइती नेपाल नेपालगन्जको तथ्यांकले देखाएको छ । माइती नेपाल नेपालगन्जले पत्रकारबीच बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, सन् २००२ देखि सन् २०२५ को अन्त्य सम्म खोजतलासका लागि निवेदन परेका मध्ये एक तिहाई पनि फेला परेका छैनन् ।

माइती नेपाल, नेपालगन्ज प्रमुख केशव कोइरालाले सन् २००२ देखि सन् २०२५ सम्म माइती नेपाल, नेपालगन्जमा खोजतलासको लागि ९ हजार ९ सय ३१ वटा निवेदन परेका थिए । तर, उनीहरू मध्ये २ हजार ९ सय १६ मात्रै फेला परेको माइती नेपाल, नेपालगन्जको तथ्यांक रहेको छ ।

माइती नेपाल, नेपालगन्जमा सन् २०२५ मा वर्ष खोजतलास तथा उद्दारका लागि ९ सय २० वटा निवेदन प्राप्त भएकोमा ५ सय ९३ जना फेला पारिएको माइती नेपालले जनाएको छ ।

माइती नेपालले सार्वजनि कगरेको तथ्यांक अनुसार, सन् २०२५ मा सीमा क्षेत्रमा कार्य गर्ने क्रममा ५ सय ४५ जना जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।

माइती नेपालले सन् २०२५ मा भारतका विभिन्न स्थानबाट श्रम तथा यौन शोषणमा परेका १४ जना महिला तथा बालबालिकाको उद्दार गरेको संयोजक कोइरालाले जानकारी दिएका छन् ।

जोखिमता मापन गर्दा लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्ला मानव बेचविखनको अति जोखिम जिल्लाको रूपमा देखिएको संयोजक कोइरालाले प्रेस सम्मेलनमार्फत जानकारी दिए । यस वर्ष दाङको तुलनामा बर्दिया जिल्लामा मानव बेचविखनका घटना बढेको पाइएको छ भने रुकुम, जाजरकोट लगायतका जिल्लाहरू पनि प्रभावित रहेका छन्। प्रदेश फरक भएता पनि कर्णाली प्रदेश अन्तर्गत सुर्खेतबाट मानव बेचविखनसम्बन्धी घटनाको दर्ता बढेको पाइएको छ, जहाँबाट मात्र २ सय २८ वटा खोजतलास निवेदन प्राप्त भएको माइती नेपालले जनाएको छ ।

बढी जोखिममा ब्राह्मण र क्षेत्री समुदाय

जातिगत रूपमा हेर्दा हाल सबैभन्दा बढी मानवबेचबिखनको जोखिममा ब्राह्मण र क्षेत्री समुदाय परेको माइती नेपालको तथ्यांकमा उल्लेख छ । खोजतलास तथा उद्धारका लागि परेका निवेदनमध्ये ब्राह्मण–क्षेत्री ४८८ जना, जनजाति १०९ जना, दलित २९० जना र आदिवासी ३३ जना रहेका छन् ।

जोखिमपूर्ण यात्राको तथ्यांक अनुसार पनि ब्राह्मण–क्षेत्री २२८ जना, जनजाति १२२ जना, दलित १७३ जना र आदिवासी २४ जना रहेको संयोजक कोइरालाले जानकारी दिए । उमेरगत रूपमा हेर्दा १८ वर्षमुनिका बालिका ४०४ जना, बालक १२८ जना, १८ वर्ष माथिका ३८४ जना तथा लामो समयदेखि परिवारको सम्पर्कमा नआएका ४ जना पुरुषको खोजतलास निवेदन परेको छ ।

Exit mobile version