नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले तस्करी नियन्त्रण गर्न प्रदेश सरकारसँग माग गरेको छ । संघले बिहीबार लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाललाई ७ बुंदे ज्ञापनपत्र बुझाउँदै तस्करी नियन्त्रण गर्न माग गरेको हो ।
संघ स्थापनाको ५८ औं वार्षिकोत्सवको अवसरमा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीले ज्ञापन पत्र बुझाउँदै खुला सीमा कडाई नहुँदा भैरहेको तस्करीले व्यवसायमा असर बारे बताएका थिए ।
ज्ञापन पत्रमा सीमावर्ती बजार रूपैडियामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जस्तै जमुनाहा नाकामा पनि परिचय पत्रका चेकजाँच गर्ने व्यवस्था लागू गर्नुपर्ने, क्यारिङ शुल्क तिर्दा भारतीय बजारबाट तस्करीको सामान सहजै नेपालगन्जमा पुग्ने गरेकाले यसमा प्रहरी प्रशासन, भन्सारसँगको मिलोमतोको आशंका संघले गरेको छ ।
सम्भावित तस्करीका नाकामा ब्यारिएर र शसस्त्र प्रहरीको अस्थायी पोस्ट् राख्नुपर्ने, पाइडल रिक्सालाई निर्बाध सीमा वारपार रोक्नुपर्ने, सशस्त्र द्वन्द्वको बेला बन्द गरिएका साइगाउँ, भनघोटना, खडैचा, उढरापुर, भगवानपुर, नरैनापुर र सुइँयाबघौडामा छोटी भन्सारहरू पुनः सन्चालन गर्नुपर्ने, जमुनाहा नाकामा स्क्यानर मेसिन राखेर अनिवार्य रूपमा चेकजाँचको व्यवस्था गर्नुपर्ने र नेपालगन्ज भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकिरहेको बारे अध्ययन गरी अवैध आयात निर्यातमा संलग्न प्रहरी, प्रशासन र भन्सार कर्मचारीहरूलाई कारबाही गर्न पनि संघले माग गरेको छ ।
