सात महादेश, सात दिने ‘वल्र्ड म्याराथन च्यालेञ्ज’ मा दौडिदै जोशी

सात महादेशमा सातदिन लगातार सञ्चालन हुने ‘वल्र्ड म्याराथन च्यालेञ्ज’मा नेपाली मूलका अमेरिकी धावक बाल जोशी सहभागी हुने भएका छन् ।३१ जनवरी २०२६ मा अन्टार्टिकाबाट शुरु भएर ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सम्पन्न हुने सात दिने ‘वल्र्ड म्याराथन च्यालेञ्ज’मा सहभागी हुने जोशी एक्लो नेपाली हुन् ।जोशी २६ दशमलव २ माइल (४२ दशमलव १९ किलोमिटर) दूरी रहने फूल म्याराथनका सात वटा सिरिजमा २९४ किमी दूरी सात दिनमा दौडिने छन् । उनी नेपाली पोशाक दौरा सुरुवालमा दौडिने छन् । २०१५ बाट शुरु भएको यो म्याराथनमा नेपाली पोशाकमा दौडिने जोशी पहिलो नेपाली हुनेछन् । यस पटकको म्याराथनमा अमेरिका, चीन, भारत, अष्ट्रेलिया, बेलायत, बेल्जियम, स्पेन, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अष्ट्रिया, डेनमार्क, हङ्गकङ्ग, न्यूजील्याण्ड, रोमानिया सहित ३० भन्दा बढि देशका ५४ जना धावक सहभागी हुनेछन् ।वल्र्ड म्याराथन च्यालेञ्जमा सहभागी हुन सम्पूर्ण धावकहरु २८ जनवरीमा अफ्रिकाको केप टाउन पुग्नेछन् । आयोजकले उनीहरुलाई त्यहाँबाट ३० जनवरीमा चार्टर गरिएको बिमानमा अन्टार्टिका पु¥याउनेछ ।३१ जनवरीमा अन्टार्टिकाबाट शुरु हुने म्याराथन दोस्रो दिन १ फेब्रुअरीमा अफ्रिकाको केपटाउनमा सञ्चालन हुनेछ । त्यस्तै तेस्रो म्याराथन २ फेब्रुअरीमा अष्ट्रेलियाको पर्थमा, चौथो म्याराथन ३ फेब्रुअरीमा एसियाको दुबईमा, पाँचौ म्याराथन ४ फेब्रुअरीमा स्पेनको म्याड्रिडमा, छैठौ म्याराथन ५ फेब्रुअरीमा ब्राजिलमा र सातौ तथा अन्तिम म्याराथन ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा सञ्चालन हुनेछ ।धावकहरु अन्टार्टिकाको माईनस २० डिग्री सेल्सियस तापक्रमदेखि दुबईको २५ डिग्री सेल्सियसमा दौडिनेछन् । म्याड्रिडको तापक्रम भने ५ डिग्री सेल्सियस रहनेछ ।म्याराथनका सहभागीहरुको आराम तथा बासका लागि होटलको व्यवस्था गरिएको छैन् । एक महादेशमा म्याराथनमा दौडिएपछि धावकले अर्को म्याराथनका लागि तयार हुनुपर्नेछ । आयोजकले चार्टर गरेको विशेष जहाज मार्फत धावकहरुलाई त्यहाँबाट अर्को महादेशमा लैजानेछ । स्वस्थ रहन दौडिन थालेका जोशी २०२१ देखि सामाजिक कार्य र मानव कल्याणका निम्ति दौडिदै आएका छन् । संसारका विभिन्न देशमा झण्डै दुई दर्जनभन्दा बढि म्याराथनमा सहभागी भएका जोशीले चार वर्षयता स्पोन्सरहरुबाट प्राप्त गरेको दुई लाख डलरभन्दा बढि रकम वान स्टेप फाउण्डेसन मार्फत नेपाल, अमेरिका र अफ्रिकामा बालबालिकाको शिक्षा,स्वास्थ्य, खेलकुद र जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गरेका छन् ।सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी दुई दशकदेखि अमेरिकामा छन् । टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् । नेपाल र अमेरिकाको झण्डा बोकेर नेपाली पोशाकमा दौडिने जोशीले यो म्याराथनलाई नेपाली सम्पदा र नेपालको प्रचारप्रसार गर्ने अवसरका रुपमा लिएका छन् । संसारका दुई दर्जनभन्दा बढि म्याराथनमा सहभागी भएपछि उनले अत्यन्त चुनौतीपूर्ण मानिने यो म्याराथनमा सहभागी निर्णय लिए । ‘त्यसमाथि थोरै दिनमा नेपाली भेषभुषा र सम्पदाको प्रचार प्रसार गर्ने यो उपयुक्त अवसर लाग्यो’, उनले थपे, ‘त्यही कारण यो म्याराथनमा सहभागी हुदैछु ।’

Exit mobile version