५० वर्षभन्दा बढी समय न्याय सेवामा समर्पित अग्रवाल र तिवारीलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान
सार्वजनिक सरोकार कानून व्यवसायी समूह, नेपालगञ्ज बाँकेले नेपालगञ्जका दुई प्रतिष्ठित वरिष्ठ अधिवक्ता गिरिवर प्रसाद अग्रवाल र इन्द्रजीत प्रसाद तिवारीलाई सम्मान गरेको छ। करिब पाँच दशकभन्दा बढी समय निरन्तर कानून व्यवसायमा संलग्न रही निःशुल्क कानूनी सहायता तथा न्यायिक सेवामा अतुलनीय योगदान पु¥याएको भन्दै समूहले उनीहरूलाई सम्मान गरेको हो ।
समूहको वार्षिक समीक्षा कार्यक्रमको अवसर पारेर सार्वजनिक सरोकारका विविध विषयमा वकालत र पैरवी गर्दै आएको समूहले वरिष्ठ अधिवक्ताद्वयको योगदानको उच्च कदर गर्दै दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरेको हो ।
कार्यक्रममा उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश बामदेव ज्ञवाली, समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, सह–संयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाह र अधिवक्ता बसन्त गौतम, महासचिव बिकाश आचार्य लगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए ।
सम्मान ग्रहण गर्दै वरिष्ठ अधिवक्ताद्वयले सम्मानप्रति आभार व्यक्त गर्दै वरिष्ठ कानून व्यवसायीलाई सम्मान गर्ने परम्परा सुरु हुनु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
कार्यक्रममा वरिष्ठतम न्यायाधीश ज्ञवालीले सार्वजनिक सरोकार कानून व्यवसायी समूहले सार्वजनिक सरोकारका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै उठाइएका विषयहरू समाधान नहुन्जेल निरन्तर पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।
यस अवसरमा नेपालगञ्ज उच्च बारका अध्यक्ष पवन कुमार गुप्ता, नेपाल बार काउन्सिलका पार्षद ईश्वरी प्रसाद ज्ञवाली, उच्च सरकारी वकिल कार्यालय बाँकेका प्रमुख यदुनाथ शर्मा, वरिष्ठ अधिवक्ता विजय कुमार गुप्तालगायतले ५० वर्षभन्दा बढी समय वकालतमा सक्रिय दुई वरिष्ठ अधिवक्तालाई गरिएको सम्मान सम्पूर्ण कानून व्यवसायीप्रतिको सम्मानको प्रतिनिधित्व भएको उल्लेख गरेका थिए ।
वरिष्ठ अधिवक्ता गिरिवर प्रसाद अग्रवालको कानून र न्यायसम्पादनमा अतुलनीय योगदान
बाँके जिल्ला, नेपालगञ्जमा १० मार्च १९४८ मा जन्मिनु भएका वरिष्ठ अधिवक्ता गिरिवर प्रसाद अग्रवालले वि.सं. २०३२ साल माघ ४ गते प्र.प.सं. ४०७ अन्तर्गत अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी कानून व्यवसायमा प्रवेश गर्नु भएको हो । त्यसयता उहाँ निरन्तर रूपमा न्याय, विधिको शासन र विधिको सर्वोच्चताको पक्षमा क्रियाशील रहँदै आउनु भएको छ ।
उहाँको व्यावसायिक जीवन उच्च नैतिकता, अनुशासन र पेशागत इमान्दारिताको उदाहरणका रूपमा चिनिन्छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय बार एसोसिएसनको अध्यक्षको जिम्मेवारीसमेत निर्वाह गर्नु भएका उहाँले कानूनी पेशाको संस्थागत विकास र व्यवसायीको हकहितका लागि उल्लेखनीय योगदान पु¥याउनु भएको छ ।
कानून व्यवसायमा पु¥याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर स्वरूप सर्वोच्च अदालतबाट वि.सं. २०६५ सालमा प्र.प.सं. ६२ अन्तर्गत वरिष्ठ अधिवक्ताको मान्यता प्रदान गरिएको हो । कानून व्यवसायसँगै सामाजिक सेवा, कानूनी सचेतना अभिवृद्धि तथा न्यायमा पहुँच विस्तारका क्षेत्रमा समेत उहाँको योगदान प्रेरणादायी रहेको छ । समाजमा न्याय र समानताको स्थापनाका लागि समर्पित उहाँ आजको पुस्ताका लागि पनि मार्गदर्शक व्यक्तित्व हुनुहुन्छ ।
यस विशेष अवसरमा, कानून, न्याय र सामाजिक सेवामा उहाँले पु¥याउनु भएको अमूल्य योगदानको उच्च कदर गर्दै वरिष्ठ अधिवक्ता गिरिवर प्रसाद अग्रवालज्यूलाई हार्दिक सम्मान व्यक्त गर्दछौँ भन्ने भाषा उल्लेख गर्दै सार्वजनिक सरोकार कानून व्यवसायी समूहले सम्मान गरेको हो ।
वरिष्ठ अधिवक्ता इन्द्रजीत प्रसाद तिवारी : कानून र न्याय सेवामा पाँच दशकको समर्पण
नेपालगञ्ज । बाँके जिल्लाको मटेहिया जन्मस्थान भएका वरिष्ठ अधिवक्ता इन्द्रजीत प्रसाद तिवारीले कानून व्यवसाय र सामाजिक सेवामा लामो समयदेखि उल्लेखनीय योगदान दिँदै आउनु भएको छ। २० मे १९४९ मा जन्मिनु भएका तिवारीले वि.सं. २०३२ साल माघ ४ गते प्र.प.सं. ४०८ बाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी औपचारिक रूपमा कानून व्यवसाय सुरु गर्नु भएको थियो।
प्रमाणपत्र प्राप्त गरेपछि उहाँ निरन्तर रूपमा कानून व्यवसायमा संलग्न रहँदै न्यायिक प्रणालीको सुदृढीकरण, कानूनको शासन र विधिको सर्वोच्चताको प्रवर्द्धनमा सक्रिय रहनु भयो। उहाँ मध्यपश्चिमाञ्चल क्षेत्रीय बार एसोसिएसनको अध्यक्ष समेत भई बारको संस्थागत विकास र व्यवसायिक मर्यादा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
उहाँको दीर्घकालीन योगदानको उच्च मूल्याङ्कन गर्दै सर्वोच्च अदालतले वि.सं. २०६७ सालमा प्र.प.सं. ८७ अन्तर्गत वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्रदान गरेको हो। यो मान्यता उहाँको पेशागत इमान्दारिता, निरन्तर सेवा र न्यायप्रतिको प्रतिबद्धताको सम्मानका रूपमा लिइन्छ।
वरिष्ठ अधिवक्ता तिवारीले वि.सं. २०३२ देखि २०४६ सालसम्म समाजका पिछडिएका, असहाय तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकहरूलाई निःशुल्क कानूनी सेवा प्रदान गर्दै न्यायको पहुँच विस्तारमा उल्लेखनीय योगदान पुर्याउनु भएको थियो। कानून व्यवसायसँगै उहाँ सामाजिक सेवा, कानूनी सचेतना अभिवृद्धि तथा न्यायिक सेवामा समेत सक्रिय रहँदै आउनु भएको छ।
कानून, न्याय र सामाजिक सेवामा निरन्तर समर्पित रहँदै आउनु भएका वरिष्ठ अधिवक्ता इन्द्रजीत प्रसाद तिवारीलाई एक अनुभवी, प्रतिष्ठित र समाजप्रति उत्तरदायी कानूनी व्यक्तित्वका रूपमा चिनिन्छ। उहाँको योगदानले स्थानीय मात्र नभई समग्र न्यायिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको सरोकारवालाहरू बताउँछन्।
