विशेष महाधिवेशनमा बाँकेबाट पार्टी सभापति नारायण प्रसाद गौडेल सहितको टोली राजधानी काठमाडौं जाने भएको छ ।
पार्टी नेता मैकुलाल वाल्मिकीका अनुसार, बाँकेका महाधिवेशन प्रतिनिधिहरू मध्ये ४० जना विशेष महाधिवेशनमा प्रतिनिधित्व जनाउँदै छन् । क्षेत्र नं. २ का सभापति रमेश गुप्तादेखि कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, डुडुवाका प्रमुख समेत विशेष महाधिवेशनमा जाँदैछन् ।
७५ जना महाधिवेशन प्रतिनिधि रहेको बाँकेमा यसअघि नेतृत्व विरुद्ध असन्तुष्टि व्यक्त गर्ने पूर्व सभापति किरण कोइराला लगायतका कतिपय हस्ताक्षर गर्नेहरू नै विशेष महाधिवेशनमा नजाने भएका छन् । ‘नेतृत्वलाई सही ठाउँमा राख्न दबाब होस् भन्ने उद्देश्यले मात्रै उहाँले हस्ताक्षर गर्नुभएको थियो’, जिल्ला पार्टी सचिव समेत रहेका कोइराला पुत्र सुधांसुले दैनिक नेपालगन्जसँग भने, ‘विशेष महाधिवेशनमा जानु हुन्न ।’ सम्बद्ध स्रोत भन्छ, शेखर कोइरालाले पार्टी संस्थापनको पृष्ठ पोषण गरेपछि हस्ताक्षर गर्नेहरु मध्येहरु पनि कतिपय नजाने भएका हुन् ।
‘हिजो १२ जना मात्रै संस्थापन इतरका हामी आज ३५ जना हस्ताक्षर गर्ने भैसकेका छौं’, महाधिवेशन पक्षधर नेता भन्छन्, ‘बाँकेमा संस्थापनलाई कमजोर बनाएर पार्टी बलियो बनाउने हाम्रो नीति हो ।’
बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसी भने विशेष महाधिवेशनले संक्रमणकालमा पार्टी कमजोर बनाउने हुँदा जान नहुने बताउँछन् । ‘यो औचित्यहीन भेला हो’, देश निर्वाचनमा होमिइसकेका बेला विशेष महाधिवेशन डाकेर पार्टीलाई कमजोर बनाउने खेल भैरहेको दाबी गर्दै क्षेत्रीय सभापति केसीले दैनिक नेपालगन्जसँग भने, ‘हिजो हस्ताक्षर गर्नुभएकाहरु मध्ये पनि आधा बढी जानु हुन्न भन्ने सूचना पाएका छौं ।’
