भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ का लागि सूचना प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आक्रामक वृद्धि योजना सार्वजनिक गरेको छ ।‘भरोसा सहकारीले चालु आर्थिक वर्षमा सूचना प्रविधि प्रणालीलाई थप सुदृढ बनाउने घोषणा गरेको छ,’ संस्थाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले मोबाइल बैंकिङ र क्यूआर पेमेन्ट प्रणालीको विकास तथा विस्तार गर्दै सदस्यलाई डिजिटल माध्यमबाट सेवा दिने योजनालाई संस्थागत गरिने बताउँदै भने । ‘यसले नगदमा निर्भर कारोबार घटाउँदै पारदर्शी र सुरक्षित वित्तीय प्रणाली निर्माणमा सहयोग पुग्ने सहकारीको विश्वास छ,’ उनले दैनिक नेपालगन्जसँग भने, ‘हामी संस्थालाई क्यासलेस बैंकिङ प्रणालीमा अभ्यस्त बनाइरहेका छौं ।’प्रमुख कार्यकारी अधिकृत रावलका अनुसार, संस्थाले आन्तरिक कार्यविधि परिमार्जन, नयाँ बचत तथा कर्जा उत्पादन विकास, सदस्य शिक्षा कार्यक्रम र कर्मचारी क्षमता अभिवृद्धिलाई पनि प्राथमिकतामा राखेको छ । साथै, स्थानीय तह तथा विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै उत्पादन, सेवा र रोजगारीसँग जोडिएका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ ।निक्षेप, कर्जा र सम्पत्तिमा तीव्र विस्तारको लक्ष्यसँगै डिजिटल भुक्तानी प्रणालीमा जोड दिनु भरोसा सहकारीको दीर्घकालीन रणनीति भएको देखिन्छ ।घाटाबाट नाफातर्फको यात्रासँगै सूचना प्रविधिमा आधारित सेवा विस्तारले सहकारीप्रति सदस्यको विश्वास थप मजबुत बनाउने अपेक्षा गरिएको संस्थाका सञ्चालक समिति अध्यक्ष बम बहादुर रावलको भनाइ छ । सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने दिशामा भरोसा सहकारीको यो योजना महत्वपूर्ण कदमका रूपमा हेरिएको उनको भनाइ छ ।शुक्रवार आयोजित संस्थाको चौथो वार्षिक साधारण सभामा कोषाध्यक्ष मिना कुमारी बोगटीले प्रस्तुत गरेको तथ्यांकअनुसार सहकारीले घाटाबाट नाफातर्फ फर्किँदै सदस्य, निक्षेप र लगानी विस्तारको महत्वाकांक्षी लक्ष्य लिएको देखिन्छ ।प्रस्तुत विवरण अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा ३० लाख ५६ हजार रूपैयाँ घाटामा रहेको संस्थाले चालु आर्थिक वर्षमा ४५ लाख ३० हजार रूपैयाँ नाफा गर्ने लक्ष्य तय गरेको छ । सदस्य संख्या २ हजार १३७ बाट बढाएर ३ हजार ५ सय पु¥याउने, सदस्य खाताको संख्या ३ हजार ८७८ बाट ५ हजार पु¥याउने लक्ष्य लिइएको कोषाध्यक्ष बोगटीको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।वित्तीय सूचकहरूमा पनि उल्लेख्य वृद्धि लक्ष्य देखिएको छ । चुक्ता सेयर पुँजी १ करोड ५६ लाख रूपैयाँबाट २ करोड रूपैयाँ पु¥याइने, निक्षेप संकलन ३ करोड ७० लाख रूपैयाँबाट बढाएर ६ करोड ७३ लाख रूपैयाँ पु¥याउने योजना छ । कर्जातर्फ लगानी ५ करोड १८ लाख रूपैयाँबाट ८ करोड ९० लाख रूपैयाँ पु¥याउने लक्ष्य राखिएको छ भने कुल सम्पत्ति १० करोड ६१ लाख रूपैयाँ नाघ्ने अनुमान गरिएको छ ।वार्षिक साधारणसभा उद्घाटन गर्दै बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सदस्य केन्द्रीत सहकारीले अहिलेपनि निकै राम्रो काम गरिरहेको बताए । उनले भरोसाले आफुलाई छोटो समयमा राम्रो ढंगले विकास गरिरहेकोले सदस्यले संस्थासंग आफुलाई जोडेर नियमित निगरानी र कारोबार गर्न सुझाए । उनले सहकारीबाट लिएको ऋण तिर्नेपर्ने बाध्यतात्मक व्यवस्थाबारे पनि जानकारी आवश्यक रहेको भन्दै सहकारीको भूमिका अझै पनि समाजलाई बुझाउन जरुरी रहेको बताए । ‘सहकारीका सदस्यहरू संस्थासँग नियमित जोडिन जरुरी छ’, उनले भने । संस्थाका अध्यक्ष बम बहादुर रावलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेड कोहलपुरका शाखा प्रबन्धक शंकर भट्टराई, राष्ट्रिय सहकारी बैंक लिमिटेड नेपालगन्ज शाखा प्रबन्धक प्रकाश थपलिया, सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघका कार्यवाहक अध्यक्ष सुरत खड्का लगायतले बोलेका थिए ।
