जिल्ला प्रहरी कार्यालय बाँकेले पुस महिनामा जिल्लामा भएका अपराध, सुरक्षा गतिविधि तथा विभिन्न घटनाको विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पुस महिनामा कुल १ सय ३९ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराध ४ वटा, गम्भीर अपराधका ३३ र सामान्य अपराधका १ सय २ वटा रहेका छन् । ऊक्त मुद्दाहरूमा अनुसन्धानका लागि प्रहरीले १ सय ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन् ।
यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ५ वटा मुद्दामा ४ जना प्रतिवादी संलग्न रहेको तथ्यांक सार्वजनिक गरिएको छ । पुस महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक अपराधका ३९ वटा घटना दर्ता भएका छन् । प्रहरीमा पुस महिनामा सम्पत्ति शुद्धीकरणसम्बन्धी १ वटा मुद्दा पनि दर्ता भएको प्रहरी नायब उपरीक्षक पातलीले बताएका छन् ।
चार सय बढी उजुरी
पुस महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा चार सय बढी ठाडो उजुरी परेका छन् । प्रहरीका अनुसार, पुस महिनामा ४ सय २ वटा उजुरी परेको हो । जसमध्ये प्रहरीले १ सय ५६ वटा उजुरी सोही महिनामा फस्र्यौट गरेको छ भने ३ वटा सम्बन्धित निकायमा लेखि पठाएको र २ सय ४३ वटा फस्र्यौट गर्न बाँकी रहेको जानकारी दिएको छ ।
लागू औषध, आत्महत्या र ठगी
पुस महिनामा लागू औषधतर्फ ब्राउन सुगर ४९० ग्राम ७३२ मिलिग्राम, नाइट्राजेपाम ७ सय २८ ट्याब्लेट र गाँजा १३ ग्राम १० मिलिग्राम प्रहरीले बरामद गरेको छ ।
शान्ति सुरक्षा र ट्राफिक
शान्ति सुरक्षा कायम गर्न पुस महिनामा ८ सय ९९ पटक पिकेट, ३९० पटक चेकिङ, ग्रामिण गस्ती १ हजार ५ सय ६० पटक र ग्रामिण गस्ती २ पटक सञ्चालन गरिएको छ ।
पुस महिनामा बाँकेमा १ सय ११ वटा दुर्घटना भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १ सय ६० जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघनमा २ हजार १ सय ५० सवारी साधनमाथि कारबाही गर्दा १८ लाख २२ हजार ५०० रूपैयाँ राजस्व संकलन भएको छ ।
महिला, बालबालिका तथा घरेलु हिंसा
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ३८ वटा उजुरी गत महिना पुसमा परेका छन् । तीमध्ये २९ वटा फछ्र्यौट भएका छन् भने १७ वटा फछ्र्यौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घरेलु हिंसाअन्तर्गत ५६ वटा उजुरी परेका छन् । तीमध्ये ३६ वटा मिलापत्रमार्फत समाधान भएका छन् ।
हराएका तथा फेला परेका व्यक्ति
पुस महिनामा महिला, पुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी हराएका र फेला परेका घटनाहरूको विवरण पनि सार्वजनिक गरिएको छ । विवरणअनुसार महिला, बालिका र पुरुष विभिन्न संख्यामा हराएको तथा फेला परेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । हराउने महिलाको संख्या २७, बालिका १४, बालक ८ र पुरुष ७ जना रहेका छन् । जसमध्ये महिला १४, बालिका १३, बालक ७ र पुरुष ४ जना फेला परेका छन् ।
विपद् र अन्य गतिविधि
पुस महिनामा बाँकेमा १० वटा विपद् परेका छन् । ती विपद्बाट २४ लाख २६ हजार ३०० रूपैयाँ बराबरको क्षति भएको छ । विपद् व्यवस्थापनमा ७५ जना प्रहरी परिचालन गरिएको थियो ।































