उत्सवमा दुई सय थरि मःमः

स्वादको सहर नेपालगन्जमा शुरु भयो सिद्धार्थ मःमः उत्सवको चौथो संस्करण

सन्ध्या गैरे

स्वादको सहर नेपालगन्जमा सिद्धार्थ कटेज आयोजना गर्दै आएको ‘मःमः फेस्टिवल’ को चौथो संस्करण सुरु भएको छ । स्वाद, संगीत र संस्कृतिको संगम बनेको फेस्टिवलको शनिवार नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले उद्घाटन गरेका छन् ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा यो आयोजना गरिएको हो । ‘आगामी वर्षदेखि यसलाई नेपालगन्जको साझा आयोजनाका रुपमा अगाडी बढाउने हाम्रो उद्देश्य छ,’ सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले दैनिक नेपालगन्जसँग भने । उनले यो आयोजना नाफामुखी नभइ स्वादको सहर नेपालगन्जलाई देशभर ब्राण्डिङको उद्देश्य पनि राखिएको बताए ।

सन् २०८० सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको मःमः फेस्टिवल यसपटक अझ भव्य र फराकिलो बनेको आयोजकको दाबी छ । तीन दिनसम्म सञ्चालन हुने फेस्टिवलमा दुई सयभन्दा बढी प्रकारका मःमः सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिए । स्थानीय स्वादसँगै नयाँ–नयाँ फ्लेभरका मःमःले फेस्टिवललाई विशेष बनाएको उनले बताए । ‘यो आयोजना साँच्चिकै स्वाद र संगीतको उत्सव हो,’ उनी भन्छन् ।

फेस्टिवलको पहिलो दिन शनिवार स्वादिष्ट मम पस्किनुका साथै स्थानीय कलाकार तथा ब्याण्डहरूको सांस्कृतिक प्रस्तुति गरिएको छ । दोस्रो दिन आइतवार आज चर्चित गायक खुमन अधिकारी, इब्सल सञ्ज्याललगायत कलाकार तथा ब्याण्डहरूको विशेष प्रस्तुति रहने बताइएको छ ।

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेका अनुसार, दोस्रो दिन नै सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एण्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिंदैछ ।

फेस्टिवलको अन्तिम दिन भोलि सोमवार, राष्ट्रिय तथा स्थानीय ब्याण्डहरूको प्रस्तुति रहनेछ भने तीनै दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति निरन्तर रूपमा प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

नेपालगन्ज शहरको मुटुमा अवस्थित सिद्धार्थ कटेज पर्याप्त स्पेस, स्वादिलो परिकार र सांगीतिक माहोलका कारण लोकप्रिय रेष्टुरेन्टका रूपमा परिचित छ । सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगन्जको चारतारे लक्जरी होटल सिद्धार्थसहित देशभर ३३ वटा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे सञ्चालनमा रहेका छन् ।

स्वादको सहर नेपालगन्जमा शनिवारदेखि सुरु भएको मःमः फेस्टिवलले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको सहभागीहरुले प्रतिक्रिया दिए । स्वाद र संगीतमा रमाएका उनीहरुले आयोजनाको खुलेर प्रशंसा गरे ।

Exit mobile version