विगतको चुनाव भन्दा यसपटक चुनावी समिकरण फेरिइसकेको छ । यसअघि २०७९ मा निर्वाचन लडेका दलमा भएको विवाद तथा फुट, थपिएका नयाँ दलको सशक्त उपस्थितिले यसपटक देशभरकै निर्वाचन परिणाम सहजै अनुमान लगाउने अवस्था छैन ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान हुँदैछ । त्यसका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको अवस्थामा बाँकेका ३ वटै निर्वाचन क्षेत्र चर्चामा रहेका छन् । सबैभन्दा बढी चर्चा हाल बाँके क्षेत्र नं. २ को रहेको छ ।
वि.सं. २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नं. २ बाट एमाले सँगको गठबन्धनबाट विजयी भएका राप्रपाका डा. धवल समशेर राणा यसपटक चुनाव नै नलड्ने भएका छन् । राप्रपाले यसपटक पार्टीका सहमहामन्त्री ऋषिराज देवकोटालाई मैदानमा उतार्दै छ ।
वि.सं. २०७९ डा. राणा सँग बाँके क्षेत्र नं. २ मा निर्वाचन लडेका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका तत्कालीन नेता मो. इस्तियाक राई यसपटक भने एमालेको निर्वाचन चिन्ह सुर्य लिएर बाँके क्षेत्र नं. २ बाट उम्मेदवारी दिंदैछन् । वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा डा. राणाले २९ हजार ५ सय ७७ मत ल्याएर विजयी हुँदा राईले २३ हजार ५ सय २० मत प्राप्त गरेका थिए । राई जसपा नेपाल छाडेर छुट्टै पार्टी जसपा खोल्दै महासचिव जस्तो जिम्मेवारीमा पुगे । अहिले त्यो पार्टीको अवस्था के हो भन्ने खुलेको छैन । पछिल्लो समय उक्त पार्टी नेताहरू अन्य पार्टीमा प्रवेश गरेपछि राई एमालेको निर्वाचन चिन्ह सुर्य लिएर निर्वाचनमा होमिन लागेका हुन् । २०७४ सालमा भने तत्कालीन संघीय समाजवादी फोरमबाट मो. इस्तियाक राई २१ हजार ५ सय ७५ मत सहित विजयी भएका थिए ।
वि.सं. २०७९ को निर्वाचनमा बाँके क्षेत्र नं. २ मा काँग्रेसका उम्मेदवार सुदिप नरसिंह राणाले ४ हजार ४ सय ३ मत प्राप्त गरेका थिए । यसपटक क्षेत्र नं. २ बाट नेपाली काँग्रेसले पार्टीका जिल्ला सचिव सुधांसु कोइरालालाई उठाउने तयारी गरेको छ । यद्यपि यो समाचार तयार पारिरहँदा कोइरालाको हातमा टिकट परिसकेको छैन ।
वि.सं. २०७९ को निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा समानुपातिक तर्फ जनता समाजवादी पार्टी नेपालले २० हजार २ सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ हजार ३ सय ८०, नेपाली काँग्रेसले १० हजार १ सय ९८, नेकपा एमालेले ९ हजार ३ सय ४६ र रास्वपाले ४ हजार १ सय ३ मत प्राप्त गरेको थियो ।
बाँके क्षेत्र नं. २ मा यस पटक रास्वपाले विवेक कुमार श्रेष्ठलाई उम्मेदवार बनाउँदैछ । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि रास्वपा सशक्त ढंगले अगाडि बढेकाले श्रेष्ठलाई पनि बाँके क्षेत्र नं. २ मा बलियो उम्मेदवारका रूपमा हेरिएको छ । यद्यपि दाबेदारहरू मध्ये कम सम्भावनामा रहेका श्रेष्ठको उम्मेदवारीले बाँकीको भूमिका के हुने भन्ने कुराले नतिजामा ठूलो अर्थराख्ने देखिन्छ ।
बाँके क्षेत्र नं. १ मा वि.सं. २०७९ को निर्वाचनमा नेकपा एमालेका सुर्यकुमार ढकाल विजयी भएका थिए । उनी यसपटक पनि एमालेबाट उम्मेदवार बन्दैछन् । वि.सं. २०७९ सालमा २५ हजार २६ मत ल्याएर ढकाल विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता महेश्वर गहतराजले १९ हजार ६ सय ३२ मत मात्रै प्राप्त गरेका थिए । नेपाली काँग्रेससँग गठबन्धन हुँदा पनि गहतराज फराकिलो मतान्तरले पराजित भएका थिए । तत्कालीन नागरिक उन्मुक्ति पार्टीका सुरेश कुमार चौधरीले ११ हजार ४ सय ६५ मत प्राप्त गरेका थिए भने रास्वपाका आनन्द बाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेका थिए । यसपटक उनै चौधरी रास्वपाबाट उम्मेदवार हुने भएका छन् ।
नेकपा एमालेसँगको गठबन्धनमा २०७४ मा भने माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा ३१ हजार १ सय ७३ मत सहित विजयी हुँदा निकटतम नेपाली काँग्रेसका माधवराम खत्रीले २८ हजार २ सय १७ मत प्राप्त गरेका थिए । बाम गठबन्धनका कारण पनि गहतराज राम्रै मतान्तरले २०७४ मा विजयी भएका थिए । गहतराज यसपटक माओवादी सहित बनेको नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार छैनन् । पार्टीले यसपटक नरेन्द्र पाण्डे (जेम्स)लाई क्षेत्र नं. १ बाट टिकट दिएको छ । यद्यपि तत्कालीन माओवादी केन्द्रबाट अलग भएर जनार्दन शर्माको नेतृत्वमा अलग्गै पार्टी गठन भएर प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन भएको छ । उक्त पार्टीबाट पनि क्षेत्र नं. १ मा उम्मेदवारीको तयारी रहेको छ । ‘हाम्रो पार्टीबाट कृष्णा केसी नमूनाले उम्मेदवारी दिंदै हुनुहुन्छ’, पार्टी क्षेत्रीय संयोजक भुपराज भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘उहाँलाई टिकट दिइसकिएको छ ।’
२०७९ को निर्वाचनमा प्रतिनिधिसभा बाँके क्षेत्र नं. १ मा समानुपातिक तर्फ नेकपा एमालेले सबैभन्दा बढी १६ हजार ८ सय ७६ मत प्राप्त गरेको थियो । नेपाली काँग्रेसले १४ हजार २ सय १८, तत्कालीन नागरिक उन्मुक्ति पार्टीले ९ हजार ९ सय ९७, नेकपा माओवादी केन्द्रले ८ हजार ९ सय ९३ र रास्वपाले ८ हजार ९ सय ९२ मत प्राप्त गरेको थियो ।
यसपटक बाँके क्षेत्र नं. १ मा काँग्रेस जिल्ला पार्टीसभापति नारायण गौडेललाई उम्मेदवार बनाइने भएको छ ।
बाँके क्षेत्र नं. ३ मा वि.सं. २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका किशोर सिंह राठौंर तत्कालीन माओवादी केन्द्रसँगको गठबन्धनमा विजयी भएका थिए । क्षेत्र नं. ३ मा राठौंरले २९ हजार ९७ मत ल्याउँदा उनको निकट रहेका नेकपा एमालेका किस्मत कुमार कक्षपतिले २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए । त्यस्तै, रास्वपाका देबेन्द्र नाथ शुक्लाले ७ हजार ४ सय ६७ मत प्राप्त गरेका थिए ।
वि.सं. २०७९ को निर्वाचनमा बाँके क्षेत्र नं. ३ मा प्रतिनिधिसभा तर्फ समानुपातिकमा नेपाली काँग्रेसले १९ हजार ८ सय ६७, नेकपा एमालेले १८ हजार ३ सय ४९, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ७ सय ६५ मत र रास्वपाले ६ हजार ४ सय ७३ मत प्राप्त गरेको थियो ।
वि.सं. २०७४ सालको निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट नेकपा एमालेका नन्दलाल रोकाय विजयी भएका थिए ।
यसपटक बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेबाट सुमन मल्ल, रास्वपाबाट खगेन्द्र सुनार, नेपाली कम्युनिष्ट पार्टीबाट दिपक जिएमलाई उम्मेदवार बनाउने भएको छ । काँग्रेसले भने पार्टीका लुम्बिनी प्रदेश सभापति अमर सिंहलाई अघि सारेको बताइएको छ । यो समाचार तयार पारुन्जेल त्यसबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।
