‘नेपालगन्जमा महिला उद्यमीहरूको सिर्जनशीलता प्रदर्शन गरिने’ आयोजकको भनाइ
महिला उद्यमशीलता प्रवद्र्धनको उद्देश्यसहित आयोजना हुँदै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी यस वर्ष दशौँ संस्करण आयोजना हुने भएको छ । महिला उद्यमी संघ नेपाल, बाँकेको आयोजनामा माघ १४ देखि १८ गतेसम्म नेपालगन्जमा प्रदर्शनी आयोजनाको घोषणा गरिएको हो ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजक महिला उद्यमी संघ नेपाल, बाँकेले तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिइएको छ ।
‘महिला उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्यसहित संघले हरेक वर्ष नियमित रूपमा प्रदर्शनी आयोजना गर्दै आएको छ,’ अध्यक्ष रेवती सिंहले भनिन् ।
अध्यक्ष सिंहका अनुसार, यस वर्षको प्रदर्शनीले पनि महिला दिदीबहिनीहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन् । अध्यक्ष सिंहले प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै विगतका वर्षहरूमा जस्तै यसपटक पनि प्रदर्शनीलाई भव्य बनाउन सबैको सहयोग अपेक्षित रहेको बताइन् । उनका अनुसार, प्रदर्शनी महिला उद्यमीहरूका लागि आत्मनिर्भरता र अवसरको महत्वपूर्ण माध्यम बन्दै गएको छ ।
दशौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्क मा आयोजना हुनेछ । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग तथा केएल दुगर्ड को मुख्य प्रयोजनमा हुने प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका गरी करिब २०० महिला उद्यमीहरूको सहभागिता रहने प्रदर्शनी संयोजक एवं महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष आभा गौतम ले जानकारी दिइन् ।
करिब ७० स्टल रहने प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला, खाद्य सामग्री, अल्लो तथा ढाका कपडा, फ्लोरिकल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार सामग्री तथा गरगहना लगायतका वस्तुहरू बिक्री तथा प्रदर्शनीका लागि राखिने महिला उद्यमी संघ नेपाल बाँकेकी महासचिव बिन्दु चर्तिमगरले जानकारी दिइन् ।
महिला उद्यमी संघ नेपाल बाँकेका अनुसार, करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ अवलोकनका लागि निःशुल्क व्यवस्था गरिएको छ । प्रदर्शनी अवधिभर विज्ञहरूको उपस्थितिमा महिला उद्यमीहरूको क्षमता अभिवृद्धि गर्न बैंकिङ कारोबार र उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिनेछ ।
महिला उद्यमीहरूको प्रोत्साहनका लागि आयोजना गरिने यस प्रदर्शनीले महिला उद्यमीहरूमा उत्साह थपेको महिला उद्यमी नेताहरूले बताएका छन् । महिला उद्यमी महासंघ नेपालको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले प्रदर्शनीले नवआगन्तुक उद्यमीहरूलाई सिक्ने अवसर प्रदान गरिरहेको बताइन् । पत्रकार सम्मेलनमा महिला उद्यमी संघ नेपाल बाँकेकी निवर्तमान अध्यक्ष सावित्रा पोखरेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गर्दै आएको उल्लेख गरिन् ।
महिला उद्यमशीलताको पहिचान र प्रवद्र्धन गर्ने यो प्रदर्शनीले नेपालगन्जलाई महिला सिर्जनशीलताको केन्द्रका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
