नेपालगन्ज पुरैनीस्थित कान्तिताल नजिकै अवस्थित ह्याप्पी होप इङ्लिस मिडियम स्कूलले आज शुक्रबार आफ्नो स्थापनाको १८औँ वार्षिकोत्सव भव्य रूपमा मनाइरहेको छ । सरस्वती पूजाको पावन अवसरमै वार्षिकोत्सव परेकाले अक्षर आरम्भसँगै विशेष कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अध्यक्ष सागर ज्ञवालीका अनुसार, शिक्षा, संस्कार र सिर्जनशीलताको संगमका रूपमा विद्यालयले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षामा निरन्तर योगदान दिँदै आएको छ । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूको शैक्षिक तथा सांस्कृतिक प्रस्तुति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम र विविध रचनात्मक गतिविधिहरू समेटिने जनाइएको छ ।
अध्यक्ष ज्ञवालीले अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थितिमा वार्षिकोत्सवलाई स्मरणीय बनाउने गरी सरस्वती पूजाको दिनसँग जोडिएर परेको यस अवसरले विद्यालय परिवारलाई थप उत्साहित बनाएको उल्लेख गरे ।
१८ वर्षको यात्रामा ह्याप्पी होप इङ्लिस मिडियम स्कूलले शैक्षिक गुणस्तर, अनुशासन र नैतिक शिक्षालाई प्राथमिकतामा राख्दै स्थानीय समुदायमा छुट्टै पहिचान बनाउन सफल भएको विद्यालयका प्रिन्सिपल युवराज कोइरालाले जानकारी दिए ।


































