तीन वटा निर्वाचन क्षेत्र रहको बाँकेमा तीन प्रतिनिधिसभा सदस्य पदका लागि ५६ जनाको उम्मेदवारी कायम भएको छ । शुक्रबार उम्मेदवारी मनोनयन फिर्ताका दिन बाँकेका दुई निर्वाचन क्षेत्रबाट ४ जनाले उम्मेदवारी फिर्ता लिएका थिए । बाँके क्षेत्र नं. १ र २ मा उम्मेदवारी फिर्ता भएपनि क्षेत्र नं. ३ मा मनोनयन दर्ता गराएका कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन् ।
क्षेत्र नं. १ मा १४ जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालय राप्तीसोनारीले जानकारी दिएको छ । क्षेत्र नं. १ मा प्रदिप पौडेल र दिपक बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै, मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँके क्षेत्र नं. २ ले २० जनाको उम्मेदवारी कायम भएको जानकारी दिएको छ । क्षेत्र नं. २ बाट सरस्वती प्रसाद बर्मा र विजय कुमार गुप्ताले नाम फिर्ता लिएका हुन् । यसअघि पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका गुप्ता नेपालगन्जका पूर्व नगर प्रमुख हुन् ।
क्षेत्र नं. ३ मा २२ जनाको उम्मेदवारी कायम भएको छ । क्षेत्र नं. ३ स्थित निर्वाचन अधिकृतको कार्यालयले २२ जना उम्मेदवारको अन्तिम नामावली शुक्रबार सार्वजनिक गरेको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले उक्त जानकारी दिएको हो ।
आयोगले शुक्रवार आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको प्रणालीमा प्राप्त विवरणअनुसार विभिन्न निर्वाचन क्षेत्रबाट ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । यससम्बन्धी थप विवरण आउने क्रम जारी रहेको पनि उनले बताए ।
आयोगका अनुसार, उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको अन्तिम उम्मेदवार नामावली शुक्रवारनै देशभरका ७७ मुख्य निर्वाचन अधिकृत तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ ।
यसैबीच समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । आयोगले समानुपातिकतर्फको उम्मेदवार नामावली प्रकाशन गरी माघ १० गतेसम्म दाबी–विरोधको समय दिइएको जनाएको छ । माघ १० गते दाबी–विरोधको प्रक्रिया सकिएपछि समानुपातिकतर्फको अन्तिम नामावली प्रकाशन गरिने प्रवक्ता कुलबहादुर जिसीले बताए ।
लुम्बिनी प्रदेशअन्तर्गत बर्दिया जिल्लामा पनि उम्मेदवारी फिर्ता तथा खारेजीको प्रक्रिया सम्पन्न भएको छ । बर्दियामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
बर्दिया निर्वाचन क्षेत्र नं. १ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार राजु रानाभाटले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै क्षेत्र नं. २ मा सोही पार्टीका उम्मेदवार नेत्रराज आचार्य र स्वतन्त्र उम्मेदवार नुतन कुमार चौधरीले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी आम जनता पार्टीका उम्मेदवार रामेश्वर चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीको नाम सरकारी निकायको कालोसूचीमा रहेको कारण उम्मेदवारी खारेज गरिएको बर्दिया क्षेत्र नं. २ का निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारी फिर्ता र खारेजीपछि बर्दिया क्षेत्र नं. २ मा १५ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ भने क्षेत्र नं. १ मा एक जनाको उम्मेदवारी फिर्ता भएपछि २१ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार देशभर उम्मेदवारी फिर्ता, खारेजी तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएसँगै अब निर्वाचन प्रचार–प्रसारका कार्यक्रम थप सक्रिय हुने अपेक्षा गरिएको छ ।































