मधु पौडेल
प्रतिनिधिसभा निर्वाचन आउन ४० दिन बाँकी छ । निर्वाचनमा शक्तिमान हुने जनता भने आफ्नै दैनिकीमा व्यस्त छन्, निर्वाचनको उत्सव नजिकिंदा पनि अपेक्षित चासो नजिकिएको देखिंदैन ।
नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरका स्थानीय सुरेश चिडिमारका अनुसार, निर्वाचन लोकतन्त्रको आधार भए पनि त्यसको अर्थ तब मात्रै हुन्छ, जब सही र इमानदार व्यक्ति नेतृत्वमा आउँछन् । ‘अब राम्रो मान्छे उठेपछि चुनाव हुनु पर्छ जस्तो लाग्छ,’ दैनिक नेपालगन्जसँगको अभिमत संवादमा उनी भन्छन् ।
‘सहि मान्छे नआए चुनावको के अर्थ हुन्छ र ?’ चिडिमारको प्रश्न छ । ‘जनप्रतिनिधिले बिहान–साँझ जनतासँग भेटघाट गर्नुपर्छ, समस्या बुझ्नुपर्छ र विशेष गरी आर्थिक रूपमा विपन्न वर्गलाई रोजगारीको अवसर दिनुपर्छ, निर्वाचनको जनचासो बुझ्ने क्रममा उनको भनाइ छ ।
बर्दिया बासगढी नगरपालिका–३ लखनाका रामसुरेश थारू हाल नेपालगन्जमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका छन् । उनी निर्वाचनको चर्चा सुनिरहेका छन् तर मिति र प्रक्रियाबारे प्रस्ट जानकारी नभएजस्तो गर्छन् । ‘चुनाव हुन्छ भन्ने थाहा छ, तर कहिले हो, जाने कि नजाने, केही पक्का छैन,’ भोट हाल्न जाने त होला ? प्रश्न खस्न नपाउँदै उनी भन्छन् । उनको कुराले बुझ्न सकिन्छ, कष्टकर दैनिकीले गर्दा राजनीति र निर्वाचन उनको प्राथमिकतामा पर्न सकेको छैन । ‘त्यस्तो केही नगरी पनि हुँदैन भन्ने लाग्छ, तर जे भए पनि केही भएन जस्तो अनुभूति हुन्छ,’ उनले निराश भाव व्यक्त गरे ।
हाम्रो अभिमत संवादमा बासगढी नगरपालिका–३ उत्तर बखारीका बजारी थारूले पनि भेटिए नेपालगन्जमै । निर्वाचन हुनै लागेको थाहा पाए पनि भोट हाल्न जाने विषय भने अन्योल रहेको बताए । ‘छोराछोरीले भोट हाल्न जानुपर्छ, नत्र आफैँलाई नोक्सान हुन्छ भन्छन्,’ उनले दैनिक नेपालगन्जसँग भने । तर कामको चाप र सूचनाको अभावले गर्दा निर्वाचनबारे सक्रिय चासो लिन नसकेको उनको भनाइ छ ।
स्थानीय पुतली थारूको भनाइले ग्रामीण तथा श्रमिक वर्गको वास्तविकता झल्काउँछ । ‘खोइ कहिले हो चुनाव,’ दैनिक नेपालगन्जसँग उनी भन्छिन्, ‘हामी त दिनभरि काम गर्ने मान्छे । त्यतिबेलासम्म बाँचिन्छ कि मरिन्छ, कसलाई थाहा ?” उनका अनुसार, जीवनयापनकै संघर्षमा अल्झिएका मानिसहरूका लागि निर्वाचन टाढाको विषय जस्तै बनेको छ ।
नेपालगन्जमै घर निर्माणको काम गर्दै आएका मजदुर किसनलाल खटिकलाई निर्वाचनबारे सामान्य जानकारी मात्रै छ । ‘चुनाव आउँदैछ भन्ने सुनेको छु,’ उनी भन्छन्, ‘तर कस्लाई भोट दिने भन्ने थाहा छैन ।’ उनका अनुसार पहिला आफ्नो काम र परिवारको जिम्मेवारी पूरा गर्नुपर्ने बाध्यता छ । ‘काम सकेपछि बल्ल चुनावका विषयमा सोच्ने हो,’ उनले दैनिक नेपालगन्जसँग आफ्नो अभिमत राख्दै भने
दैनिक नेपालगन्जसँग भेटिएका अर्का मतदाता रामकुमार थारू पनि निर्वाचनप्रति धेरै जानकार प्रस्तुत भएनन् । ‘थाहा भए पनि आफ्नै काममा व्यस्त हुन्छु,’ उनी भन्छन् । कस्लाई भोट दिने भन्ने विषयमा अहिलेसम्म कुनै ठोस धारणा नबनेको उनले बताए । उनका अनुसार, राजनीतिक दल र उम्मेदवारले जनतासम्म पुगेर स्पष्ट कार्यक्रम र भरोसा दिन सकेका छैनन् ।
उनीहरुसँगको संवादबाट प्रष्ट हुन्छ, निर्वाचन नजिकिँदै गर्दा पनि धेरै नागरिकहरू जीविकोपार्जन, गरिबी र सूचनाको अभावका कारण राजनीतिक प्रक्रियाबाट टाढा छन् । दैनिक जीवनको संघर्षले गर्दा चुनावी बहस, उम्मेदवारको मूल्यांकन र सहभागिता नागरिकको प्राथमिकतामा अझैपनि पर्न सकेको छैन ।
‘यस्ता समुदायसम्म निर्वाचनसम्बन्धी स्पष्ट सूचना पु¥याउने, मतदानको महत्व बुझाउने र जनप्रतिनिधिले गर्ने कामबारे विश्वास जगाउने जिम्मेवारी राज्य र राजनीतिक दलहरूको हो, निर्वाचनबारे जानकारी भन्छन् । जनताको चासो र भरोसा बिना निर्वाचन केवल औपचारिक प्रक्रियामा सीमित हुने खतरा उनीहरु औल्याउँछन् ।































