स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले प्रदान गर्ने हरि–जमुना पत्रकारिता पुरस्कार पत्रकार भगत राम थारु र रुपनी जिएमलाई प्रदान गरिएको छ । शिक्षक तथा समाजसेवी माधवी शाहले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा स्थापना गरेको हरि–जमुना स्मृति अक्षय कोषमार्फत उक्त पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार भगतरामले अघिल्लो वर्षको र रुपनीले यस वर्षको पुरस्कार नगद राशीसहित ग्रहण गरेका हुन् । कार्यक्रममा दुबैले पुरस्कारले आफ्नो पेशागत उर्जा बढाएको गौरबबोध व्यक्त गरेका थिए ।
स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विष्ट, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका वर्तमान अध्यक्ष नमस्कार शाह लगायतले संयुक्त रूपमा प्रदान गरेका थिए ।
पुरस्कार वितरण समारोहमा बोल्दै वरिष्ठ पत्रकार पूर्णलाल चुकेले अहिले स्वतन्त्र व्यक्ति पाउनै मुस्किल भएको अवस्थालाई उल्लेख गर्दै स्वतन्त्र पत्रकार संघले पत्रकारिता क्षेत्रमा स्वतन्त्रताको सशक्त सन्देश दिएको बताए । उनले पत्रकार कुनै पनि दलको ‘झोले’ बन्न नहुने स्पष्ट पारे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष नवीन गिरी, महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरे, अन्तरालका कार्यकारी प्रमुख जय नारायण शाह, गैरसरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्व अध्यक्ष तेज विक्रम शाह, हरि–जमुना स्मृति अक्षय कोषकी सञ्चालक माधवी शाह लगायतले मन्तव्य राखेका थिए ।
पुरस्कार घोषणा संघका निवर्तमान अध्यक्ष नमस्कार शाहले गरेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष हेमराज भट्टले गरेका थिए भने सञ्चालन सचिव माधव कार्कीले गरेका थिए ।






























