नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशले प्रदेश डायरी प्रकाशन गरेको छ । संगठनको शनिबार बाँकेको नेपालगञ्जमा सम्पन्न चौथो प्रदेशस्तरीय बैठकमा उक्त डायरीको विमोचन गरिएको हो ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले डायरीको विमोचन गर्दै सेवाग्राही र कर्मचारीबीच सूचना आदानप्रदान गर्ने प्रभावकारी माध्यमका रूपमा डायरी उपयोगी हुने बताउनुभयो । उहाँले यसले सेवा प्रवाहसम्बन्धी जानकारी दिनुका साथै सुशासन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षता तथा भौतिक पूर्वाधार विकास मन्त्री ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा मन्त्री ढकालले प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनलाई समयसापेक्ष बनाउन संशोधनको काम अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले कर्मचारीको मनोबल उच्च बनाउने गरी प्रदेश सरकारले आफ्ना कार्यक्रम र नीतिहरू अघि बढाइरहेको स्पष्ट पार्नुभयो ।
सो अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भवानी न्यौपानले कर्मचारीको कार्यस्थलमा सुरक्षाको ग्यारेन्टी अनिवार्य हुनुपर्ने बताउँदै सुरक्षित र अनुकूल कार्य वातावरणको सुनिश्चितता सरकारले गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा संगठनका लुम्बिनी प्रदेश इञ्चार्ज कवि सिंह कठायत, सहइञ्चार्ज नारायणप्रसाद भण्डारी, केन्द्रीय सदस्यहरू किरण अधिकारी, दुर्गा महत, बलबहादुर खड्का, सूचना तथा विज्ञान प्रविधि आयोगका सदस्य खगराज उपाध्याय, संगठनका दाङ जिल्ला अध्यक्ष गोकर्ण वली, बाँके अध्यक्ष देविलाल चौलागाईं, बर्दिया अध्यक्ष कृष्णबहादुर बिष्ट, कपिलवस्तु अध्यक्ष केशव मरासिनी, रुकुम पूर्व अध्यक्ष भिमबहादुर झाक्री, प्युठान अध्यक्ष रामबहादुर बस्नेत, रुपन्देही उपाध्यक्ष जीवन पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो ।
प्रदेश उपाध्यक्ष टुकबहादुर रोकाको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण भिम खनालले गर्नुभएको थियो ।
बैठकले २०८२ सालको भित्ते पात्रो प्रकाशन गर्ने, आगामी पाँचौँ बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी बैशाख महिनामा प्युठान जिल्लामा आयोजना गर्ने निर्णय गरेको छ । यस्तै प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न नेपाल सरकारलाई सहयोग गर्ने निर्णयसमेत गरिएको छ ।
त्यसैगरी तीव्र सेवा, शीघ्र विकास र सेवा अब लाइनमा होइन, अनलाइनमा भन्ने अवधारणालाई कार्यान्वयन गर्दै सुशासन कायम गर्न प्रतिबद्धता व्यक्त गर्दै संगठनको सांगठानिक तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको संगठनका लुम्बिनी प्रदेश महासचिव भिम खनालले जानकारी दिनुभयो ।






























