नेकपाबाट बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बनेका दिपेन्द्र बिष्टले नयाँ पुस्ताका युवाहरुसँग संवाद थालेका छन् । ‘बदलिँदो समय, प्रविधि र अवसरको खोजीमा रहेका जेन–जीका आवाजलाई नजिकबाट सुन्दै त्यसका आधारमा योजना बनाउन संवाद शुरु गरेको हो,’ बिष्टले दैनिक नेपालगन्जसँग भने, ‘उनीहरूले उठाएका मागप्रति म गम्भीर हुनेछु ।’
त्यसक्रममा शनिवार आयोजित छलफलमा जेन–जी युवाहरूले रोजगारी, सीप विकास, डिजिटल अवसर, शिक्षा प्रणाली, उद्यमशीलता र पारदर्शी शासन जस्ता विषयमा आफ्ना धारणा राखेका थिए । ‘हामीलाई भाषण होइन, अवसर चाहिएको छ’ नयाँ पुस्ताका युवाको कुरा थियो । विष्टले व्यवहारिक समाधानको युवा अपेक्षालाई आफुले सकारात्मक रुपमा लिएको बताए । उनले नयाँ पुस्ताका युवाहरुले उठाएका हरेक मुद्दा आफ्ना एजेन्डाका रुपमा रहेको बताए ।
विष्टले आफु युवासँग संवादसँगै जेष्ठ नागरिकहरुको आशीष थाप्न पनि उत्तिकै सक्रिय रहेको जानकारी दिंदै भने, ‘म सबैको प्रतिनिधिका रुपमा उम्मेदवार हुन चाहेको हुँ ।’































