राष्ट्रिय तथ्यांक कार्यालयले बालबालिका सम्बन्धी तथ्याङ्कीय प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा आधारित रहेर नेपालका बालबालिकाहरूको अवस्थालाई विस्तारपूर्वक विश्लेषण गरेको छ । यसले जनसाख्यिक, बाल संरक्षण, शिक्षा, स्वास्थ्य, बसाइँसराइ, अपाङ्गता र समग्र जीवनस्तर लगायतका बहुआयामिक क्षेत्रलाई समेटेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल ९८ लाख ६९ हजार ५८३ जना बालबालिका रहेका छन् । ती मध्ये अधिकांस अभिभावकसँगै बस्ने गरेको पाइएको छ । देशका ७७.९ प्रतिशत बालबालिका आमा–बुबासँगै बसोबास गरिरहेका छन् ।
तथ्यांक अनुसार, लुम्बिनीमा २४ प्रतिशत बालबालिका आमा बुबा दुवैसँग संयुक्त रूपमा बस्दैनन् । तथ्यांक कार्यालयका अनुसार, लुम्बिनीमा ७६ प्रतिशत बालबालिका मात्रै आमा बुबा दुवैसँग बस्ने गरेका छन् भने २० प्रतिशत आमासँग मात्रै, १ प्रतिशत बुबा सँग मात्रै र अन्य व्यक्तिसँग ३ प्रतिशत बालबालिका बस्ने गरेका छन् ।
नेपालमा प्रदेश अनुसार बालबालिकाको पारिवारिक बसोबासमा उल्लेखनीय अन्तर देखिएको छ । तथ्यांकअनुसार मधेश, कर्णाली र बागमती प्रदेशमा अधिकांश बालबालिका आमा–बुबा दुवैसँग बस्ने गरेका छन् भने गण्डकी र सुदूरपश्चिम प्रदेशमा यस्तो अवस्था तुलनात्मक रूपमा कमजोर देखिएको छ ।
मधेश प्रदेशमा ८३ प्रतिशत बालबालिका आमा–बुबा दुवैसँग बस्ने गरेका छन्, जुन सबैभन्दा बढी हो । कर्णाली ८२ प्रतिशत र बागमती ८० प्रतिशत पनि यसमा अगाडि देखिएका छन् । यस्ता बालबालिका हाल बसोबास गरिरहेको नगरपालिकामै जन्मिएको सम्भावना ९१.९ प्रतिशत रहेको छ तथ्यांकले देखाएको छ । जसले बसाइँसराइको जोखिम कम र स्थायित्व उच्च रहेको संकेत गर्छ ।
तर गण्डकी प्रदेशमा केवल ६७ प्रतिशत बालबालिका मात्र आमा–बुबासँग बस्ने गरेका छन्, जुन सबैभन्दा कम हो । सुदूरपश्चिम प्रदेशमा यो प्रतिशत ७२ रहेको छ । यी प्रदेशमा आमा मात्रसँग वा अन्य आफन्तसँग बस्ने बालबालिकाको हिस्सा उच्च देखिन्छ ।
विश्लेषणअनुसार, रोजगारदाता वा आमा–बुबा बाहेक अन्य व्यक्तिसँग बस्ने बालबालिका फरक जिल्ला वा स्थानमा जन्मिएको सम्भावना बढी हुन्छ । तथ्यांकले रोजगारदातासँग बस्ने ६१.६ प्रतिशत बालबालिका पूरै फरक जिल्लामा जन्मिएको देखाउँछ । त्यस्तै, आमा र सौतेनी बुवासँग बस्ने २२.५ प्रतिशत बालबालिका पनि अर्को जिल्लामा जन्मिएका छन् ।
विशेषज्ञहरूका अनुसार, आमा–बुबा दुवैसँग नबस्ने बालबालिका बसाइँसराइ, सामाजिक असुरक्षा र संरक्षणसम्बन्धी जोखिममा बढी पर्ने सम्भावना रहन्छ ।
बालअधिकारकर्मीहरूका अनुसार अभिभावकसँग नबस्ने बालबालिकामा आर्थिक अभाव, समयको कमी, शोषण र दुरूपयोगको जोखिम बढी हुने भएकाले यस्ता बालबालिकाका लागि विशेष संरक्षण र सहयोग आवश्यक छ ।
बालबालिकाको बसाइँसराइ
नेपालमा ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रमा बसाइँसराइ गर्ने बालबालिकाको संख्यामा वृद्धि भइरहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, बसाइँसराइले राम्रा अवसरहरू उपलब्ध हुनसक्छ तर त्यस्ता बालबालिकाहरूले स्थायित्व, पठनपाठनमा व्यवधान, बालश्रम तथा शोषण र विभेद तथा सामाजिकीकरणका लागि जोखिमको सामना गर्नुपर्ने हुन्छ ।
बालबालिकाको स्वदेशभित्रैको आन्तरिक बसाइँसराइको दर १२ प्रतिशत रहेको छ । बागमती प्रदेशमा यो दर सर्वाधिक अर्थात् १३ प्रतिशत र मधेसमा सबैभन्दा न्यून १० प्रतिशत रहेको छ ।
बसाइँसराइ गरेका बालबालिकामध्ये दुइतिहाइ (६६%) को बसोबास अर्धसहरी क्षेत्रमा रहेको छ जब कि कर्णाली प्रदेशका ८१ प्रतिशत बालबालिका ग्रामीण क्षेत्रमा बसोबास गरिरहेका देखिन्छन् ।
सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत बालबालिका ग्रामीण क्षेत्रमा बसोवास गरिरहेका छन् ।
. बसाइँसराइ भएका कुल बालबालिकामध्ये ६९ प्रतिशतभन्दा बढी सम्पन्नताको शीर्षस्थ (अति सम्पन्न र सम्पन्न) दुईमा रहेका परिवारभित्रका छन् जब कि सम्पन्नताको तल्लो पचाशबाट ६ प्रतिशत बालबालिकाको मात्र बसाइँसराइ भएको देखिन्छ ।
तथ्यांक कार्यालयका अनुसार, कुनै पनि प्रदेशमा आर्थिक रूपले सक्रिय रहेका अधिकांश बालबालिकाको बसाइँसराइ भएको देखिँदैन ।
बालबालिकाको शिक्षा र साक्षरता
शिक्षाले बालबालिकाको आर्थिक, सामाजिक, स्वास्थ्य तथा मनोवैज्ञानिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । बागमती र गण्डकी प्रदेशमा साक्षरतादर उच्च छ भने मधेश प्रदेशमा न्यून छ । विशेषतः बालिकाहरू शैक्षिक उपलब्धिका दृष्टिले केही पछाडि रहेका देखिन्छन् ।
औसतमा ९० प्रतिशतभन्दा अधिक बालबालिका हाल विद्यालयमा गइरहेका देखिन्छन् जब कि यो दर मधेस प्रदेशमा ८१ प्रतिशत मात्र छ ।
निरक्षर बालबालिकाको हिस्सा ६ प्रतिशत रहेको छ भने ६७ प्रतिशतले आधारभूत शिक्षा प्राप्त गरेका छन् । मधेसमा निरक्षर बालबालिकाको हिस्सा सर्वाधिक अर्थात् १४ प्रतिशत रहेको छ ।
माध्यमिक शिक्षा प्राप्त गर्ने बालबालिकाको हिस्सा सम्पन्नताको सबैभन्दा तल्लो पञ्चांशमा रहेका परिवारमा ११ प्रतिशत मात्र छ भने सबैभन्दा शीर्षस्थ पशांशमा रहेका परिवारका बालबालिकातर्फ २२ प्रतिशत रहेको छ ।
आफ्नो रोजगारदातासँग बसोबास गरिरहेका बालबालिकामध्ये ४२ प्रतिशत मात्र हाल विद्यालय गइरहेका देखिन्छन् भने आमा र बाबुसँग बसोबास गरिरहेका ८९ प्रतिशत बालबालिका हाल विद्यालय गइरहेको अवस्था छ । तथ्याङ्कले आफ्नी आमासँग मात्र बसोबास गरिरहेका बालवालिकामध्ये ९२ प्रतिशत हाल विद्यालय गइरहेको देखाएको छ ।
