इरानका विदेशमन्त्री अराघची आइतबार पुनः इस्लामावादमा

इरानका विदेश मन्त्री अब्बास अराघची ओमानको भ्रमणपछि आइतबार साँझ पुनः पाकिस्तानको राजधानी इस्लामाबाद फर्किनुभएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी सरकारी सञ्चारमाध्यम इस्ना (आइएसएनए) ले इरानी स्रोतलाई उद्धृत गर्दै विदेशमन्त्री देशमा शान्ति स्थापनाका लागि पाकिस्तानी मध्यस्थतामा अमेरिकासँग हुने वार्तामा सहभागी हुने सन्दर्भमा पाकिस्तान पुग्नुभएको हो ।

इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार अब्बास अराघचीले पाकिस्तानी अधिकारीहरूसँग बसेर मध्यपूर्वमा ‘युद्ध पूर्ण रूपमा अन्त्य गर्ने कुनै पनि समझदारीको ढाँचामा इरानको अडान र धारणाहरू’ व्यक्त गर्नुहुने कार्यक्रम रहेको छ ।

अराघचीले एक दिन अघि मात्र इस्लामाबादबाट बाहिरिनुभएको थियो । उहाँले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “उहाँले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र अन्य वरिष्ठ अधिकारीहरूलाई युद्ध समाप्त गर्ने व्यावहारिक ढाँचाको बारेमा इरानको स्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

शनिबार पाकिस्तानबाट भएको उहाँको बहिर्गमनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान जान लागेको आफ्नो प्रतिनिधिमण्डलको यात्रा स्थगित भएको घोषणा गर्नुभएको थियो ।

अराघचीले आफ्नो धारणा राखिसकेकोले अब वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय अमेरिकाको भएको बताउनुभएको थियो । उहाँले ‘अमेरिका कूटनीतिको बारेमा साँच्चै गम्भीर छ वा छैन भन्ने अझै स्पष्ट छैन’ भन्नुभएको थियो ।

–ट्रम्प, स्टार्मर र म्याक्रोँबीच हर्मुजबारे वार्ता–

बेलायती प्रधानमन्त्री केइर स्टार्मर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार टेलिफोन वार्ता भएको थियो । यस क्रममा उहाँहरूले ‘स्ट्रेट अफ हर्मुज’मा समुद्री यातायात पुनः सुरु गर्नुपर्ने आवश्यकताबारे छलफल गर्नुभएको थियो ।

डाउनिङ स्ट्रीटका प्रवक्ताका अनुसार दुई नेताहरूले स्ट्रेट अफ हर्मुजमा जहाजको पुनः सुरुवात महत्त्वपूर्ण रहेको कुरामा जोड दिनुभएको थियो ।

समाधानका लागि हुने वार्ताको विलम्बले विश्वभरी अर्थतन्त्र र जीवनयापनको लागतमा गम्भीर प्रभाव पारिरहेको बिषयमा बेलायतका प्रधानमन्त्री स्टार्मरले दुबै देशका नेताको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रवक्ताले प्रधानमन्त्री स्टार्मरले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग ट्रम्पलाई समुद्री मार्गहरूको स्वतन्त्र आवागमन पुनस्र्थापना गर्न जारी संयुक्त पहलको प्रगतिको बारेमा जानकारी दिनुभएको थियो ।

–इरानी नेता अराघची र कतारका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता–

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँग फोनमा कुराकानी गनुभएको छ । यस कुराकानीमा दुई नेताहरूले युद्ध अन्त्य गर्न र क्षेत्रमा तनाव कम गर्न कूटनीतिक प्रयासहरूको बारेमा छलफल गरेका थिए ।

उहाँले कतारका प्रधानमन्त्रीलाई युद्धविरामसम्बन्धी वर्तमान अवस्था र यसलाई बलियो बनाउन आइरहेका चुनौतीबारे जानकारी गराएको बताउनुभयो । उहाँले इरानले युद्ध अन्त्य गर्न र तनाव कम गर्न निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनुभयो ।

Exit mobile version