साहित्यको सुगन्धले शनिबार नेपालगन्जको वातावरण नै फरक बनायो । सिर्जना, समालोचना र वैचारिक गहिराइले नेपाली भाषा–साहित्यलाई समृद्ध बनाउँदै आएका दुई विशिष्ट व्यक्तित्व एकै मञ्चमा सम्मानित हुँदा कार्यक्रम हल तालीको गडगडाहटले गुञ्जायमान भयो ।
सर्वदा साहित्य संगम बाँकेले यस वर्षको ‘सर्वदा साहित्य सम्मान’ प्रा.डा. कृष्णप्रसाद घिमिरेलाई प्रदान गर्दै उनको दीर्घकालीन बौद्धिक योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ । त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख तथा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्यका रूपमा रहेर घिमिरेले नेपाली समालोचना र शैक्षिक क्षेत्रमा पु¥याएको योगदानलाई कार्यक्रमले विशेष रूपमा उजागर ग¥यो ।
संस्थाका अध्यक्ष खगेन्द्र गिरि कोपिलाका अनुसार, ‘बागेश्वरी सर्वदा पुरस्कार’ समालोचक डा. इन्द्रबहादुर भण्डारी ‘इन्द्रेणी’लाई प्रदान गरिएको छ । कविता, आख्यान र समालोचनाका माध्यमबाट नेपाली साहित्यमा वैचारिक गहिराइ थप्दै आएका भण्डारीको सिर्जनात्मक यात्रालाई उपस्थित साहित्यप्रेमीहरूले उच्च कदर गरे ।
