उत्साहपूर्ण सहभागितामा सकियो फेष्टिबल

होटल व्यवसायी संघ बाँके नेपालगन्ज र तारे होटलहरूको संस्था हान नेपालगन्ज च्याप्टरको संयुक्त आयोजनामा नेपालगन्जलाई स्वादका सहरका रूपमा ब्रान्डिङ्ग गर्ने गरी आयोजना गरिएको ‘नेपालगन्ज स्ट्रिट फुड एण्ड बेभरेज फेष्टिबल’ २०२६ आइतबार सकिएको छ । गत शुक्रबार भव्य कार्यक्रम बीच उद्घाटन गरिएको फेष्टिबल सफलता पूर्वक सम्पन्न भएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम लाल कंडेलले बताए ।

आइतबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष कंडेलले निकै ठूलो आँटका साथ सुरु गरिएको कार्यक्रमको सफलतामा नेपालगन्जको बृहत्तर हित नीहित रहेको बताए ।

त्यस्तै आयोजक संस्था हानका वरिष्ठ उपाध्यक्ष समेत रहेका मूल आयोजक समितिका सहसंयोजक केशव न्यौपानेले लक्ष्य भन्दा बढी फेष्टिबलमा सहभागिता भएको जनाए । ‘हामीले करिब ३० हजार सहभागी हुने लक्ष्य राखेका थियौं, तर ३५ हजार बढी सहभागी भएको अनुमान छ’ , उनले भने, ‘फेष्टिबलमा सहभागीहरूले यहाँ आयोजित सांगीतिक कार्यक्रमबाट मनोरञ्जन लिनुका साथै विभिन्न परिकारका स्वाद लिनुभयो ।’

‘४० वटा स्टल मार्फत सयौं फरक र स्तरीय स्वाद सहुलियत मूल्यमै पस्किने व्यवस्था मिलाइएको थियो’, उनले भने, ‘पाँच तारे होटलमा गएर खाने स्वाद सडकमै निकै सहुलियत मूल्यमा खाने व्यवस्थाले पनि फेष्टिबलमा आकर्षण बढेको थियो ।’

फेष्टिबलको तीन दिन नै राष्ट्रिय स्तरका कलाकारहरूको सांगीतिक प्रस्तुति राखेका थिए । नेपालगन्जको रात्रीकालिन जीवनलाई ‘गुल्जार’ बनाउने गरी वाटरपार्क क्षेत्रमा पाँच तारे होटलका परिकारहरू पस्किइने गरी फेष्टिबलको आयोजना गरिएको थियो ।

Exit mobile version