होटल व्यवसायी संघ बाँके, नेपालगन्जले मंगलबार आफ्नो स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोड्दै विभिन्न सृजनशील कार्यक्रमका साथ मनाएको छ ।
२०५४ सालमा स्थानपना गरिएका संघले स्थापना दिवसको अवसरमा बिहान नेपालगन्जको पुष्पलाल चोक क्षेत्रदेखि वाटरपार्कको प्रवेशद्वारसम्म सरसफाइ अभियान सञ्चालन गरेको थियो ।
वातावरण स्वच्छ र सहर सुन्दर बनाउने उद्देश्यसहित संघका अध्यक्ष भिमलाल कंडेलको नेतृत्वमा गरिएको सरसफाइ कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।
संघले निलसागर सेवा आश्रममा पुगेर त्यहाँ आश्रित जेष्ठ नागरिक तथा असहाय बालबालिकाका लागि सहयोग हस्तान्तरण गरेको छ । नीलसागरले निर्माण गरिरहेको सेवा आश्रम भवनको निर्माणका लागि संघको तर्फबाट २१ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको संघका अध्यक्ष भिमलाल कँडेलले जानकारी दिए ।
अध्यक्ष कँडेलको नेतृत्वमा आश्रम पुगेका संघका पदाधिकारीहरूले त्यहाँका आश्रितहरूको अवस्था, आवश्यकताबारे चासो व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
संघले आफ्नो स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा फरक ढंगले मानवीय सेवा र सामाजिक कार्यमा समर्पित गरेर मनाउने प्रयास गरेको अध्यक्ष कंडेलले बताए ।
कार्यक्रममा उपाध्यक्ष विष्णुप्रसाद पोखरेल, कोषाध्यक्ष एकराज पाण्डे, अग्रणी व्यवसायी रामप्रसाद पाण्डे, कार्यालय सचिव कमला रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
































