नेकपाले अघि सारेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का युवा उम्मेदवार दिपेन्द्र विष्टले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ मा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।
स्थानीय नेता कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा उद्घाटन गरिएको कार्यालयबाट नियमित निर्वाचन प्रचारप्रसारसँगै जनसंवाद गरिने विष्टले जानकारी दिए । ‘जनताको भरोसा र परिवर्तनको अपेक्षालाई यी कार्यालयले व्यवस्थित गर्नेछन्, विष्टले पत्रकारसँग भने ।
कार्यालय उद्घाटनका क्रममा उम्मेदवार विष्टले वडास्तरका विद्यमान समस्या र आवश्यकताबारे आफुले नियमित संवाद गर्ने प्रतिबद्धता जनाए । त्यसक्रममा स्थानीयले सडकको अवस्था, ढल व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा देखिएका कमजोरीहरू खुलेर राखेका थिए ।
‘विकास भाषणले होइन, जनताको पीडा सुनेर र समाधान गरेर हुन्छ भन्नेमा मेरो विश्वास छ,’ विष्टले जनसंवादमा वडाको दिगो विकासका लागि स्थानीय सहभागिता र पारदर्शी काम गर्ने प्रतिबद्धता जनाउँदै भने ।






























