जोशीको नेपालगन्जबाट ‘गिनिज बुक’ यात्रा

नेपालगन्जमा रही पत्रकारितामा सफल युवा बाल जोशीले दौरा सुरुवालमै ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

हाल अमेरिकाको टेक्सासमा रहेका जोशीले ‘विश्व म्याराथन च्यालेञ्ज’ अन्तर्गत सात महादेशमा, सात दिन लगातार सञ्चालन भएको सात वटा म्याराथनमा दौरा सुरुवालमा दगुरेर विश्व किर्तिमान कायम गर्दै गिनिज बुकमा नाम लेखाउन सफल भएका हुन् ।

सात महादेशमा सात दिन लगातार सञ्चालन भएको म्याराथनमा नेपाली पोशाकमा दौडिने विश्वमै पहिलो धावक बनेका जोशीको यो साहसिक कर्म विश्व किर्तिमान गिनिज बुकमा लेखिएको छ ।

शुक्रवार अमेरिकाको मायामीमा आयोजित ‘विश्व म्याराथन च्यालेञ्ज’को समापन समारोहमा गिनिज बुक अफ वल्र्डका प्रतिनिधि माईकल ईम्प्रिकले जोशीलाई प्रमाण पत्र प्रदान गरेका छन् ।

३१ जनवरीमा अन्टार्टिकाबाट शुरु भएको म्याराथन शुक्रवार अमेरिकाको मायामीमा भएको छ । उनले ‘विश्व म्याराथन च्यालेञ्ज’ अन्तर्गत सात महादेशमा सञ्चालित सात वटै म्याराथनको समापनमा नेपाली र अमेरिकी झण्डा फहराएका थिए ।

२०१५ मा देखि हरेक वर्ष सञ्चालन हुदै आएको ‘विश्व म्याराथन च्यालेञ्ज’ अत्यन्त चुनौतीपूर्ण मानिन्छ । सात महादेशमा लगातार सात दिनसम्म सात म्याराथन सञ्चालन हुने भएकोले यो प्रतियोगितालाई ‘७७७ म्याराथन’ भनिन्छ । ‘७७७ म्याराथन’ २०२६ मा जोशी सहित ३२ देशका ५६ धावक सहभागी थिए ।

अन्टार्टिकाबाट शुरु भएको म्याराथन, अफ्रिकाको केप टाउन, अष्ट्रेलियाको पर्थ, एशियाको दुबई, स्पेनको म्याड्रिड, ब्राजिल हुदै सातौ दिनमा अमेरिकाको मायामीमा सकिएको हो ।

सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी अध्ययनका शिलशिलामा नेपालगन्जमा रहँदा बागेश्वरी टाइम्स, स्पेस टाइम लगायतका मिडियामा पत्रकारिता गरे । दुई दशकदेखि अमेरिका टेक्सासको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सको ग्रेपभाइन सिटीमा बस्ने जोशी पेशाले बैंकर्स हुन् । उनले ‘विश्व म्याराथन च्यालेञ्ज’ लाई छोटो अवधिमा नेपाली सम्पदाको प्रचार गर्ने अवसरका रुपमा सदुपयोग गरेको बताए ।

‘यो चुनौतीपूर्ण म्याराथनलाई मातृभूमि नेपाल, नेपाली सम्पदा र संस्कृति चिनाउने अवसरका रुपमा लिएको थिएँ’, उनले दैनिक नेपालगन्जसँग भने, ‘आफू जन्मेको माटो र सम्पदाप्रतिको सम्मानका लागि गरिएको प्रयास सफल हुँदा खुशी लागेको छ ।’

जोशीले सात दिन, सात महादेशमा सञ्चालित सात वटा म्याराथनमा फरक फरक दौरा सुरुवाल लगाएका थिए । ती सबै दौरा सुरुवाल काठमाडौंका विश्व गौतमले तयार गरेका थिए ।

जोशी नेतृत्वको वन स्टेप फाउन्डेसनले धारा नेपालगन्ज म्याराथनसँगको सहकार्यमा नेपालगन्जका धेरै बालबालिकालाइै दौडसँग जोड्न क्रियाशील छ ।

Exit mobile version