यतिबेला तपाईंका घरदैलोमा आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरु प्रचारप्रसारमा आइरहेका होलान् । तपाईलाई थाह हुनुपर्छ, कतै आचारसंहिताको उलंघन गरेर दल तथा उम्मेदवारहरु सक्रिय भइरहेका त छैनन् ?
बाँके जिल्लामा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू बढ्दै गएको पाइएको छ । हालसम्म दुई दर्जनभन्दा बढी उजुरी तथा घटनाहरू जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।
बाँकेमा स्थानीय तहका प्रमुख÷उप प्रमुख देखि वडाध्यक्षसम्म खुलेआम निर्वाचन प्रचारप्रसारमा लागेपछि आचारसंहिता अनुगमन समितिले उनीहरुलाई निगरानीमा राख्ने र आवश्यक चेतावनी दिन थालेको छ । उजुरीसँगै उनीहरुका फोटो भिडियोका आधारमा पहिलो पटकलाई चेतावनी दिइएपनि अटेरी बढ्दै गए कारबाहीको सम्भावना रहेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समितिका संयोजक पूर्णबहादुर खत्रीका अनुसार, पछिल्लो समय पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत जनप्रतिनिधिहरूले आफ्नै पालिकाभित्र प्रचारप्रसार गरेको विषयमा उजुरीहरू प्राप्त भएका छन् । संहिता अनुसार, उनीहरु आफ्नो पालिका क्षेत्रभित्र निर्वाचन प्रचारप्रसार गर्न पाउँदैनन् ।
‘सोधपुछ गर्दा केही जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्नुभएको छ र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ खत्रीले दैनिक नेपालगन्जसँग भने ।
उनका अनुसार, केही राजनीतिक दलले बालबालिकालाई समेत प्रचारप्रसारमा प्रयोग गरेको पाइएपछि सचेत गराइएको छ । ‘रातिको समयमा प्रचार गतिविधि सञ्चालन गरेको भन्ने गुनासो पनि आएकाले सचेत बनाइएको छ,’ जिल्ला अनुगमन अधिकारी खत्रीले भने । आचारसंहिता पालनाका विषयमा सम्बन्धित दलका जिल्ला पदाधिकारीमार्फत सचेत गराइएको र ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
त्यस्तै, व्यक्ति लक्षित, अपमानजनक तथा द्वेषपूर्ण अभिव्यक्ति दिएको उजुरीसमेत आएको भन्दै त्यस्ता जनप्रतिनिधि र उम्मेदवारलाई चेतावनी दिइएको प्रशासनले जनाएको छ ।
केही घटनाबारे सूचना आए पनि संलग्न व्यक्तिको पहिचान र सोधपुछ प्रक्रिया अझै बाँकी रहेको सहायक प्रजिअ खत्रीले बताए । ‘प्राप्त उजुरीहरूको गम्भीरताका आधारमा छानबिन भइरहेको छ, दोषी पाइए कारबाही गरिनेछ,’ उनले भने ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन प्रशासनले अनुगमनलाई कडाइ गर्दै लैजाने जनाएको छ ।
निर्वाचन आचारसंहिताः राजनीतिक दलले गर्न नहुने काम
गत माघ ४ गते राति १२ बजेदेखिनै निर्वाचन आचारसंहिता, २०८२ लागु भएको अवस्था छ ।
आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष, पारदर्शी, भयमुक्त एवम् मितव्ययी निर्वाचन गर्नका लागि आयोगबाट पुस १३ गते स्वीकृत गरेको निर्वाचन आचारसंहिता, २०८२ लागु गरिएको हो ।
निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठनले कुनै जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्दछ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता अनुगमन गर्न कार्य देशभरिनै भइरहेको छ ।
