बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आन्दोलनका नाममा पछिल्लो पटक सरकारी कार्यालयमा गरिएको आगजनीले पाएको दुख कम गर्न सरकारले कुनै प्रयास नगरेको टिप्पणी गरेका छन् ।
निर्वाचन प्रचारका क्रममा घरदैलोमा पुग्दा जनताले गरेको गुनासो सुन्ने क्रममा पूर्वमन्त्री समेत रहेका एमाले उम्मेदवार राइले बाँकेमा मालपोत, राजश्व, भन्सार लगायतका सरकारी संरचना ध्वस्त पारिँदा गरिबले सबैभन्दा धेरै दुख पाइरहेको बताए ।
‘नगरपालिका, भन्सार, राजश्व कार्यालय अनि मालपोत लगायतका संरचना जलाइँदा अहिले सबैभन्दा धेरै गरिबहरूले दुख पाइरहेका छन्,’ पूर्वमन्त्री राइले मतदातामाझ भने, ‘लालपुर्जाको श्रेष्ता कायम गराउन ५ हजार रूपैयाँ तिर्नुपरिरहेको छ ।’ उनले प्रश्न गरे ‘राजश्व उठाउने संरचनाहरू ध्वस्त पारेर देश चलाउन चाहिने पैसा कहाँबाट आउँछ ?’
नेता राइले देश बनाउने र देश खरानी बनाउनेबीचको भेद बुझ्न मतदाताहरूसमक्ष आग्रह गर्दै वडा नं २० मा सोमवार आयोजित निर्वाचन केन्द्रित कार्यक्रममा भने, ‘भदौ २४ गते देशका धरोहर र सरकारी संरचनाहरू जलाउनेलाई कहिल्यै माफी हुनै सक्दैन ।’
‘म मैले यो–यो बनाएँ भनेर तपाईमाझ आउँदैछु, कोही देश खरानी बनाएँ भनेर आउँदैछन्, तपाइँ मतदाताहरू सचेत हुनुस्,’ राइले भने, ‘दल र नेताहरूप्रति आक्रोश थियो भने आफैं फेरि किन दल खोलेर नेता बन्न आएको ? सोध्नुस् ।’ ‘नेताहरूसँगको आक्रोशको बदलामा सरकारी संरचना र धरोहर जलाउनेहरूलाई माफ गर्न सकिन्न,’ पूर्वमन्त्रीसमेत रहेका राइको भनाइ थियो ।
राईले वडा नं २० मा रहेका सुकुम्बासीहरूलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेको र निर्वाचन लगत्तै त्यो पूरा हुने आश्वासन पनि दिएका थिए ।





























