मोबाइलमा बजेका, देखिएका सूचना नै अन्तिम सत्य मान्ने देशैभरि ठूलो जनसंख्या रहेको छ, यो जनमत सोसल मिडियामा आएका मिथ्या र भ्रामक सूचनाको जालमा गहिरो रूपमा अलमलिएको देखिन्छ। चोक–चौतारा, चियापसलदेखि सामाजिक सञ्जाल र ठूला बहससम्म, अधिकांश छलफल तथ्यभन्दा बढी अफवाह र अपुष्ट सूचनामै सीमित छन्। यसलाई हाम्रो डिजिटल साक्षरता अत्यन्त कमजोर अवस्था देखाउछ।
भर्खरै तथ्यांक विभागले निकालेको सर्भेक्षणअनुसार ९० प्रतिशत वयस्क पुरुषसंग मोवाईल फोन रहेको छ भने ८१ प्रतिशत बढी महिलाहरुसंग रहेको छ । त्यस्तै ८२ प्रतिशत घरपरिवारमा इन्टरनेट प्रयोग भएको पनि सर्भेक्षणले देखाएको छ। यसले के देखाउछ भने हामी प्रबिधि र इन्टरनेट पहुचमा छौ तर यो संग सम्बन्धित सहि ज्ञान र सहि सदुपयोगका बारेमा आवश्यक डिजिटल साक्षरता भने अत्यन्त न्युन र कमजोर अवस्था रहेको छ।
यही कमजोरी अवस्थाको फाइदा उठाउँदै निर्वाचनमा उम्मेदवार र राजनीतिक दलहरू पनि एक–अर्कालाई दोषारोपण गर्ने होडसँगै, को भन्दा को कम शैलीमा मिथ्या सूचना प्रवाहमा लागिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेसँगै, भ्रामक र गलत समाचारले जनमत प्रभावित गर्ने जोखिम झनै गहिरिँदै गएको छ।
यस्तो अवस्थामा निर्वाचन लक्षित मतदाता शिक्षा अत्यन्त कमजोर अवस्थामा रहेको तथ्य गम्भीर चिन्ताको विषय बनेको छ। म मतदान किन गर्दैछु? मतदानले के परिवर्तन ल्याउँछ? मतदान अधिकार किन महत्वपूर्ण छ? मतदाताले कुन आधारमा निर्णय लिनुपर्छ? यस्ता आधारभूत प्रश्नमा न त राजनीतिक दलहरूको ध्यान पुगेको देखिन्छ, न उम्मेदवारहरूकै प्राथमिकतामा यो विषय परेको छ। मतदाता शिक्षाको अभाव लोकतन्त्रकै जरा कमजोर पार्ने विषय हो, तर यसतर्फ गम्भीर बहस र हस्तक्षेप भएको देखिँदैन।
लोकतन्त्रमा जनताको सहभागिताको सबैभन्दा प्रभावकारी र प्रत्यक्ष माध्यम भनेकै मतदान हो। मतदान केवल मतपत्रमा चिन्ह लगाउने औपचारिक प्रक्रिया मात्र होइन, यो नागरिकले आफ्नो भविष्य, शासन प्रणाली र प्रतिनिधि चयनमा प्रत्यक्ष योगदान दिने ऐतिहासिक अधिकार हो। यही कारण मतदाता शिक्षा लोकतन्त्रलाई मजबुत बनाउने आधारशिला मानिन्छ। तर व्यवहारमा हेर्दा हामी यसैमा चुकिरहेका छौँ। अधिकांश मतदाता “जित्ने देखिएकैलाई हालौँ”, “अब नयाँलाई हेरौँ” जस्ता भावनात्मक र सतही आधारमा निर्णय गरिरहेका छन्। आगामी निर्वाचनमा पनि यही प्रवृत्ति दोहोरिने संकेत देखिन्छ, जसमा सामाजिक सञ्जालको प्रभाव अझ गहिरो रहनेछ।
मतदाता शिक्षा भनेको नागरिकलाई निर्वाचन प्रक्रिया, मतदान अधिकार र कर्तव्य, निर्वाचन प्रणाली, आचारसंहिता तथा सचेत र विवेकशील निर्णय गर्ने क्षमताबारे जानकारी र सीप प्रदान गर्ने प्रक्रिया हो। यसको मूल उद्देश्य मतदातालाई भ्रम, डर, लोभ र दबाबबाट मुक्त गरी स्वतन्त्र रूपमा सोच्न र मतदान गर्न सक्षम बनाउनु हो। तर आज मोबाइलमै सीमित सूचनाका आधारमा निर्णय गरिरहेका मतदातालाई मिथ्या र भ्रामक सूचनाबारे बुझाउने काम अत्यन्तै कमजोर भएको छ। यो अवस्थालाई समयमै सम्बोधन नगर्ने हो भने, प्रतिनिधि सभा मात्र होइन, समग्र सरकार नै दीर्घकालीन अस्थिरताको चक्रमा फस्नेमा दुईमत छैन।
सबैभन्दा पहिले नागरिकलाई मतदान अधिकार र कर्तव्यबारे स्पष्ट जानकारी दिनु आवश्यक छ। उमेर पुगेका प्रत्येक नागरिकले संविधानले दिएको मतदान अधिकार कसरी प्रयोग गर्ने, मतदान नगर्दा लोकतन्त्रमा कस्तो असर पर्छ, भन्ने विषयमा पर्याप्त जानकारी पाउनुपर्छ। यस निर्वाचनमा तीन लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्। डिजिटल प्रविधिको प्रयोगसँगै फैलिएका भ्रामक सूचनाले निर्वाचन परिणाममै प्रभाव पार्न सक्ने जोखिमलाई ध्यानमा राख्दै, मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखिनुपर्ने थियो। तर यथार्थमा यसतर्फ अपेक्षित ध्यान पुगेको देखिँदैन।
यसैगरी, निर्वाचन प्रणालीबारे जानकारी दिनु मतदाता शिक्षाको अर्को महत्वपूर्ण पक्ष हो। संघीय, प्रदेश र स्थानीय तहका निर्वाचनबीचको भिन्नता, प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली, एक मतदाताले कति मत हाल्छ भन्ने जस्ता आधारभूत विषयले मतदातालाई भ्रममुक्त बनाउँछ। आज उम्मेदवारहरू मत माग्दा विकासका ठूला–ठूला आश्वासन दिन केन्द्रित छन्, जबकि प्रतिनिधि सभा नीति निर्माण गर्ने थलो हो, विकास आयोजना बाँड्ने कार्यालय होइन। यो यथार्थ मतदाताले बुझ्न नसक्दा अपेक्षा र वास्तविकताबीच ठूलो दूरी पैदा भएको छ।
मतदान प्रक्रियाबारे जानकारी पनि उत्तिकै आवश्यक छ। मतदानको दिन केन्द्रमा जाने तरिका, मतपत्र चिन्ने, सही तरिकाले चिन्ह लगाउने, गोप्य मतदानको महत्वजस्ता विषयमा जानकारी अभाव हुँदा बदर मतको संख्या बढ्ने जोखिम रहन्छ। यो शिक्षा जति धेरै मतदातासम्म पुर्याउन सकियो, त्यति नै निर्वाचनको गुणस्तर सुधार हुन्छ।
त्यस्तै, मतदाता शिक्षाले उम्मेदवार र राजनीतिक दलको मूल्याङ्कन गर्ने क्षमता विकास गर्न सहयोग गर्छ। “मोबाइलमै सबै छ” भन्ने सोचले गलत सूचना बोकेर हिँड्ने जमात पनि बढाएको छ। हाम्रो जस्तो विविध सांस्कृतिक, जातीय, धार्मिक र सामाजिक संरचना भएको समाजमा नाता, पैसा, मदिरा वा डरको प्रभावमा नपरी उम्मेदवारको नीति, कार्यक्रम, इमानदारी र कार्यक्षमता हेरेर मतदान गर्न प्रेरित गर्नु चुनौतीपूर्ण छ। यही चुनौती घटाउन मतदाता शिक्षाको भूमिका झनै महत्वपूर्ण हुन्छ।
यससँगै निर्वाचन आचारसंहिता र कानुनी प्रावधानबारे जानकारी पनि अत्यावश्यक छ। पैसाको प्रयोग, प्रलोभन, धम्की र दबाब निर्वाचन अपराध हुन् भन्ने बुझाइ समाजमा पर्याप्त रूपमा विकास भएको छैन। “चुनावमा पैसाको खोलो बग्छ” भन्ने धारणा जनमानसमा गहिरो बसेको छ। यसको सत्य–तथ्य बुझाउन राजनीतिक दल, निर्वाचन आयोग र नागरिक समाज सक्रिय हुनुपर्ने थियो, तर व्यवहारमा त्यो देखिएको छैन।
सचेत मतदाता भएको अवस्थामा मात्र चुनावले जनताको वास्तविक इच्छा प्रतिबिम्बित गर्छ। मतदाता शिक्षाले सही प्रतिनिधि चयन गर्न सहयोग गर्छ, बदर मत घटाउँछ र निर्वाचनको विश्वसनीयता बढाउँछ। यसले लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढ बनाउँदै शासन प्रणालीप्रति जनविश्वास बढाउँछ। विशेष गरी महिला, युवा, दलित, अपांगता भएका व्यक्ति तथा पछाडि परेका समुदायको सहभागिता बढाउन मतदाता शिक्षाको भूमिका झनै महत्वपूर्ण छ।
अन्ततः, मतदाता शिक्षा लोकतन्त्रको मेरुदण्ड हो। सचेत, शिक्षित र जिम्मेवार मतदाता बिना लोकतन्त्र बलियो हुन सक्दैन। त्यसैले निर्वाचन आयोग, सरकार, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम र समुदाय सबैले मिलेर निरन्तर, समावेशी र प्रभावकारी मतदाता शिक्षा अभियान सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता हो। दोषारोपणको राजनीतिबाट बाहिर निस्केर मतदाता शिक्षामा लगानी गर्न सके मात्र लोकतन्त्रको भविष्य सुरक्षित रहन सक्छ।
