प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफूले उठाएका मुद्दाहरूलाई अरू प्रतिस्पर्धीहरूले पनि उठाएकोमा सह्राना गर्नुभएको छ।
आज वडा नं ४ मा नेकपा एमालेको कार्यालय उद्घाटन गर्दै एमालेबाट उम्मेदवार रहनुभएका राईले भन्नुभयो, “मैले यहाँको आवश्यकताअनुसार उठाएका मुद्दाहरूलाई अरू दलका उम्मेदवारहरूले पनि क्यारी गर्न थाल्नुभएको छ। वहाँहरूलाई विशेष धन्यवाद छ।”
बाँके क्षेत्र नं २ का मतदाताहरूको घरघरै पुगेर आफूले अहिले वहाँहरूको माग र चाहना बुझ्ने काम गरिरहेको बताउनुभएका राईले सोहीअनुसार फागुन ४ गते आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी पनि दिनुभयो। राईले काम गरेको इतिहास र भविष्यमा पनि तुलनात्मकरूपमा काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्न समेत मतदाता समक्ष आग्रह गर्नुभएको थियो।
कार्यालय उद्घाटनपछि राईले वडा नं ४ मा मतदाताहरूको घरघरै पुगेर भेट्नुभएको थियो।
