रुपैडीहा–नेपालगन्ज क्षेत्रमा युवा पुस्ता जोखिममा, सुरक्षाबीचै कारोबार फस्टाउँदैसुरेन्द्र मधेसियानेपाल–भारत सीमासँग जोडिएको रुपैडीहा र आसपासका बस्तीहरूमा पछिल्ला दिनहरूमा अर्को ‘अदृश्य महामारी’ फैलिँदै गएको छ—नशाको व्यापार ।यो व्यापार यति गहिरो गरी जरा गाडिसकेको छ कि दिनदिनै युवाहरू यसको सिकार बन्दै गइरहेका छन् । पहिले नेपाली युवालाई ग्राहक बनाएर चम्किएको यो व्यापार अब आफ्नै आसपास र पुस्ता नाशको कारक बन्दैछ ।सुरक्षा निकायले बेला–बेला मादक पदार्थसहित केही युवालाई पक्राउ गरी कारबाही त गर्छन्, तर त्यो केवल सतहमा देखिने कारबाहीजस्तो मात्र भएको स्थानीयको गुनासो छ । पक्राउ परे पनि कारोबार भने झन् मौलाउँदै गएको देखिन्छ ।रुपैडिहास्थित स्थानीय स्रोतका अनुसार, अबैध कारोबारीका लागि सबैभन्दा बढी लाभदायक ‘स्म्याक’ (ब्राउन सुगर) को कारोबार हो । एक किलो स्म्याकमा १० गुणासम्म नाफा हुने र नेपाल भित्र्याएपछि २० गुणासम्म कमाइ हुने गरेको बताइन्छ । यही लोभले नेपाल–भारत रुपैडिहा सीमावर्ती क्षेत्रलाई नशाको ‘ट्रान्जिट प्वाइन्ट’ बनाएको छ ।सम्बद्ध स्रोतका अनुसार, रुपैडीहा हुँदै नेपालगन्जसम्म अहिले दैनिक एक किलोभन्दा बढी स्म्याक भित्रिने गरेको दाबी गरिन्छ । ‘माल आउनासाथ ५ ग्रामदेखि १०० ग्रामसम्म साना–साना भागमा बाँडेर बिक्री हुने गरेको छ,’ उनीहरु भन्छन् ।आश्चर्य त के छ भने, भारी संख्यामा भारतीय प्रहरी र एसएसबीको तैनाथी हुँदाहुँदै पनि कारोबार दिनप्रतिदिन बढ्दो छ । त्यही अवस्था नेपालतिरको नाकामा पनि छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै चेकजाँचबाट पनि त्यो ‘फेला पर्दैन’ अनि सजिलोसँग नेपालगन्ज, कोहलपुर र खजुरामात्रै होइन, बर्दिया, सुर्खेत र पहाडी जिल्लासम्म विस्तार भइरहेको छ ।नेपालगन्ज कारागारमा रुपैडीहा र बहराइच क्षेत्रका करिब २० जना युवा नशा कारोबारको मुद्दामा थुनामा छन् ।भारतमा सजिलै जमानत पाइने भए पनि नेपालमा भने सजाय पूरा नगरी छुटकारा नपाइने भएकाले धेरै युवक जेलमै युवावस्था बिताइरहेका छन् । सम्बद्ध स्रोतका अनुसार, काठमाडौँ कारागारमा समेत नानपारा र बहराइचकामात्रै तीन युवक बन्दी जीवन बिताइरहेका छन् ।स्म्याक मात्र होइन, वैध–अवैध मेडिकल स्टोरहरूबाट समेत नशालु औषधिको खुलेआम बिक्री भइरहेको पाइएको छ । यो प्रहरीले देखेर पनि अनदेखा किन गरिरहेको छ ? प्रश्न उठिरहेको छ ।ट्रामाडोल, स्पास्मो, नाइट्राभेट, अल्प्राजोलाम जस्ता ट्याब्लेटदेखि कोडिनयुक्त कफ सिरप र इन्जेक्सनसम्म युवाहरूले नशाका रूपमा प्रयोग गरिरहेका छन् ।गत एक वर्षमै रुपैडीहाका विभिन्न स्थानमा चार नेपाली युवाको शव फेला परेको घटनाले अवस्था झन् गम्भीर बनाएको छ । नशाको शिकार बढीजसो नेपाली युवानै छन् ।रामजानकीनगर, चकिया रोड, चिकवन टोला, बरथनवा, नयाँबस्ती, केवलपुर मोड, सानो नहर चोक र रञ्जीतबोझा लगायत गाउँ–बस्तीमा समेत यो धन्दा फैलिएको छ ।कतिपय युवाले त नशाको लतका कारण घरजग्गासमेत बेच्न थालेको स्थानीय बताउँछन् । ‘छोरा कहिले कसको संगतमा पर्छ भन्ने डरले सुत्नै सक्दैनौं,’ एक अभिभावकको पीडा छ ।स्थानीयस्तरमा रुपैडीहा ‘सबैभन्दा कमाइ हुने थाना’ का रूपमा चिनिन थालेको चर्चा छ ।कतिपय सुरक्षाकर्मीको तैनाथी नै ‘लाभदायक पोस्टिङ’ जस्तै बन्नु र छापा मार्ने सूचना पहिल्यै चुहिनुजस्ता घटनाले सुरक्षा संयन्त्रकै भूमिकामाथि प्रश्न उठाएको छ । ‘विना लाइन यति ठुलो अबैध कारोबार चल्नै सक्दैन,’ स्थानीयहरु ढुक्कसँग भन्छन्, ‘यीनले रकम कमाउने चक्करमा यो डढेलोले युवा पुस्तानै सखाप पार्ने जोखिम देखा परिरहेको छ ।’ हालै एक उच्च अधिकारीको निरीक्षणअघि नै केही मेडिकल स्टोरहरू बन्द गरी व्यवसायी फरार भएको घटनाले समेत शंकालाई बल दिएको छ । गत साता सोमवार डिआई विनय कृष्ण आउँदा केही मेडिकल स्टोर एकाएक बन्द गरेर रहस्यमय ढंगले भागेका थिए ।स्थानीय नागरिकहरू भन्छन्, देखावटी कारबाहीले होइन, गोप्य र निष्पक्ष अनुसन्धानबाट मात्रै यो धन्दा नियन्त्रण हुन सक्छ । नत्र भने सीमावर्ती बस्तीहरूमा नशाको जालले अर्को पुस्ता नै गुम्ने खतरा बढ्दै गएको छ ।यो बेला रुपैडीहा–नेपालगन्ज नाका क्षेत्र आज एउटा गम्भीर प्रश्नसँग जुधिरहेको छ, ‘सीमाको सुरक्षा कडा छ, तर युवाको भविष्य किन असुरक्षित छ ?’
सीमापार फैलिँदो ‘नशाको जाल’
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति
by
Dainik Nepalgunj
March 29, 2026
बाँके : के छ कार्की आयोगको प्रतिवेदनमा ?
by
Dainik Nepalgunj
March 29, 2026
जुत्ता-चप्पल व्यवसायी संघमा कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति
by
Dainik Nepalgunj
March 29, 2026
परिवारले भन्यो, ‘सिर्जनाको हत्या भएको हो’
by
Dainik Nepalgunj
March 29, 2026
शासकीय सुधारका लागि सरकारका सय कार्ययोजना (पूर्णपाठसहित)
by
Dainik Nepalgunj
March 29, 2026