आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका उम्मेदवारले पुरानै एजेण्डा दोहो¥याएका छन् । प्रमुख पार्टीबाट निर्वाचनमा होमिनुभएका राजनीतिक दलका उम्मेदवार केहीबाहेक अधिकांश नयाँ अनुहारका छन् । यस पटक जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जिल्ला सचिव सुधान्सु कोइराला, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दीपेन्द्र विष्ट नयाँ अनुहारका रूपमा हुनुहुन्छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट इश्तियाक राई उम्मेदवार हुनुहुन्छ । उहाँ पूर्वमन्त्रीसमेत हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विवेककुमार श्रेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ऋषिराज देवकोटा पनि नयाँ अनुहारका हुनुहुन्छ । विसं २०७९ को निर्वाचनमा राप्रपाका नेता धवलशम्शेर राणा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै बाँकेको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेल नयाँ उम्मेदवार हुनुहुन्छ भने एमालेका तर्फबाट सूर्य ढकाल पुराना उम्मेदवार हुनुहुन्छ । नेपाली कम्युनिष्ट पार्टीबाट नरेन्द्र पाण्डे (जेम्स) नयाँ अनुहारका हुनुहुन्छ । जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका तर्फबाट अमरसिंह पुन, एमालेका तर्फबाट सुमन मल्ल, रास्वपाका खगेन्द्र नेपाली नयाँ अनुहार हुनुहुन्छ । प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, नेकपाले जिल्लामा विगतका निर्वाचनमा नभएका कामलाई प्राथमिकतामा राख्दै दिगो समाधानको खोजी गर्ने बताउँदै आएका छन् । उहाँहरूले भन्नुभएको छ, “आधारभूत रूपमा जनताका आवश्यकता पूरा गर्न सुधारका काम सम्पन्न गरेसँगै त्यसले परिवर्तनलाई आत्मसात् गर्नसक्छ ।” एमालेका उम्मेदवार राईले विगतका निर्वाचनमा विजयी भएपछि यहाँको विकास गर्नु, पर्यटन प्रवर्द्धन आफ्नो नेतृत्वमा भएको जिकिर गर्दै बाँकी रहेका कामलाई पूर्णता दिन आफू विजयी हुनुपर्ने तर्क गर्नुभयो । उहाँले शिक्षामा आधुनिकीकरण गर्दै नेपालगञ्जस्थित भेरी अस्पताललाई विशिष्टकृत अस्पतालका रूपमा व्याख्या गरिए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । राईले भन्नुभयो, “महेन्द्र बहुमुखी क्याम्पसको स्तरोन्नति, पर्यटन पूर्वाधारको विकास र प्रवर्द्धन, कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नु अहिलेको आवश्यकता हो ।” त्यसबाहेक औद्योगिक करिडोर निर्माण, क्रिकेट रङ्गशाला, सुक्खा बन्दरगाहको स्थापना, युवा स्वरोजगारका कार्यक्रमलाई पूर्णता दिनुपर्नेलगायत काम बाँकी रहेका उल्लेख गर्नुभयो । उम्मेदवार राईले राप्तीनदी किनारमा भएको बस्ती जोगाउन र जमिनको कटान रोक्न तटबन्ध निर्माण गर्नुपर्ने बताउनुभयो । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विष्टले नेपालगञ्जको ढल निकास र पूर्वाधारको विकासमा जोड दिँदै मदरसा शिक्षालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रको विकासका लागि ‘औद्योगिक ग्राम’ स्थापना हुनुपर्ने उल्लेख गर्दै नेपालगञ्जलाई आइटी र नवप्रर्वतनको हबका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो । “यस क्षेत्रमा लागुऔषध दुव्र्यसनको ठूलो समस्या छ, यसलाई नियन्त्रण गर्न विशेष संयन्त्र निर्माणमा जोड दिनुपर्छ”, विष्टले भन्नुभयो । जेनजी आन्दोलनको मर्म भ्रष्टाचारमुक्त समाज र सुशासन भएकामा जोड दिँदै उहाँले डुडुवामा राप्ती नदीले गरेको कटान रोकेर दिगो समाधान खोज्न पहल गरिने बताउनुभयो । निर्वाचन क्षेत्र नं २ का कांग्रेसका उम्मेदवार कोइरालाले जनताले सुशासनसहित समृद्ध समाजको अपेक्षा गरेका उल्लेख गर्दै निर्वाचित भएर गएपछि जनताको मर्म अनुसार भ्रष्टाचारमुक्त समाज निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘हामीले जिताएका जनप्रनिनिधि निर्वाचित भएपछि गाँउ छिरेनन्’ भन्ने जनगुनासो रहेकाले आफू जनताको नजिक रहेर काम गर्ने विश्वास दिलाउनुभयो । उम्मेदवार कोइरालाले जेनजी आन्दोलनपछि पार्टीले नीति र नेतृत्व परिवर्तन गरेको जानकारी दिँदै निष्ठाको राजनीतिलाई स्थापित गर्ने प्रयत्न गर्ने बताउनुभयो । निर्वाचन क्षेत्र नं २ मा मलखादको समस्या रहेकामा विज्ञ टोली गठन गरेर समाधान गरिने, कृषिमा रुपान्तरण आवश्यक भएकाले नीतिगत परिवर्तन गर्ने उहाँले उल्ल्ेख गर्नुभयो । उहाँले भौतिक पूर्वाधारको विकाससँगै भेरी अस्पतालमा विपन्न समुदायको पहुँच स्थापित गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई स्तरोन्नति गर्नेलगायत योजना अघि सार्नुभएको छ । निर्वाचन क्षेत्र नं १ का उम्मेदवार ढकालले राप्ती नदीका कतिपय क्षेत्रमा पुल नहुँदा एम्बुलेन्स र दमकल पनि जान सक्ने अवस्था नरहेकाले त्यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले कोहलपुर चप्परगौँडी हुँदै घुइँयाबारी जोड्ने बाटोसहित पर्यटकीय मार्गको विकास गर्न आवश्यक रहेको उल्लेख गर्दै नरैनापुर क्षेत्रमा शिक्षा, खानेपानी र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । कोहलपुरमा सुविधासम्पन्न बाल अस्पताल, क्रिकेट मैदानको निर्माणसँगै राष्ट्रिय योजनाका रूपमा रहेको सिक्टा सिँचाइ योजनालाई पूरा गर्न आवश्यक भएको ढकालको भनाइ छ । तीन निर्वाचन क्षेत्र रहेको बाँकेको क्षेत्र नं १ मा एक लाख २४ हजार ७२७, क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता छन् । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा १४, निर्वाचन क्षेत्र नं २ मा २० र निर्वाचन क्षेत्र नं ३ मा २२ जना गरी कूल ५६ जना चुनावी मैदानमा हुनुहुन्छ । —
बाँकेमा दलका पुरानै चुनावी एजेण्डा, अनुहार भने नयाँ
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
ठूलो दलमा आएपछि झनै काम गर्न सक्ने विश्वास बढ्यो: इश्तियाक राई
by
Dainik Nepalgunj
February 11, 2026
अख्तियारलाई देखाएर काम पन्छ्याउने प्रवृत्तिले प्रदेश सरकार मारमा पर्यो : मुख्यमन्त्री आचार्य
by
Dainik Nepalgunj
February 11, 2026
‘ग्रे लिष्ट’मा नेपाल, चुनौतीसँगै अवसर पनि
by
Dainik Nepalgunj
February 11, 2026
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग
by
Dainik Nepalgunj
February 11, 2026
सीमापार फैलिँदो ‘नशाको जाल’
by
Dainik Nepalgunj
February 11, 2026