प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले आफू विजयी भएमा बाँकेको विकासमा उल्लेख्य काम गर्नसक्ने विश्वास झनै बढेर आएको बताउनुभएको छ। आज वडा नं १ धम्बोझीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार राईले आफ्नो काम गराईलाई वडा नं १ ले राम्ररी महसुस गरेको पनि दाबी गर्नुभयो।
आफू सांसद र मन्त्री छँदा वडा नं १ मा कार्यान्वयन गरेका आयोजनाहरूको दृष्टान्त दिँदै राईले वडा नं १ आफूले सबैभन्दा धेरै माया गर्ने मध्येको एक भएको बताउनुभयो। ‘यहाँका वडाध्यक्ष र म पहिले फरक पार्टीमा थियौं, विचारधारा पनि फरक थियो। तर आफ्नो ठाउँको विकासको सवालमा भने हाम्रो कुरा मिल्यो। वहाँ पनि काम गर्न चाहने मान्छे, म पनि। हामीले यो वडामा वाटरपार्क, चिल्ड्रेन पार्क, ब्याडमिन्टन कोर्ट, भवनहरू निर्माण अनि बाटोघाटो बनाउन मिलेर काम गर्यौं।’, राईले भन्नुभयो, ‘फेरि पनि मलाई जिताउनुभयो भने म यहाँको मुहार फेर्नका लागि विकास निर्माणका थुप्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
पछिलो ३ वर्ष प्रतिनिधसभामा बाँके क्षेत्र नं २ को भूमिका विर्सनलायक रहेको राईको भनाई थियो। वहाँले आफ्नो कार्यकाल र अरूको विगतको कार्यकाल तुलना गरेर मूल्यांकन गर्न पनि मतदाताहरूसमक्ष आग्रह गर्नुभयो। आफू विगतमा सानो पार्टीमा हुँदा समेत बाँकेमा उल्लेख्य विकास निर्माणका आयोजनाहरू ल्याउन सफल भएको बताउनुभएका राईले भन्नुभयो, ‘अहिले त म नेकपा एमालेबाटै उम्मेदवार छु। अध्यक्ष केपी ओली जीको नेतृत्वमा मन्त्री छँदा त काम गर्न सकें भने अब यहीँ नै आएपछि झन कति काम गर्न सक्छु होला! तपाइँहरूले बुझ्नुभएकै छ।’
राईले कार्यक्रममा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका धम्बोझीका २ युवाप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको सम्मानमा आफूबाट हुनसक्ने सहयोग गर्न इच्छुक रहेको पनि बताउनुभयो। शहीद युवाहरूको सम्मानमा शहीद गेट र शालिक बनाउने वडा नं १ को कार्यक्रमको सह्राना पनि राईले गर्नुभएको थियो।
त्यस्तै उम्मेदवार राईले आजै वडा नं १ धम्बोझीमा घरघरै पुगेर मतदाताहरूसँग भेटघाट गर्नुभएको थियो।
