बाँके जिल्लाको राप्ती–सोनारी र नरैनापुर गाउँपालिकामा राप्ती नदीको कटानबाट प्रभावित क्षेत्रमा स्थायी तटबन्धन निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। वर्षौंदेखि बाढी र नदी कटानका कारण सयौं बिघा जमिन जोखिममा परेका थिए भने स्थानीय बासिन्दा विस्थापनको त्रासमा बस्न बाध्य थिए।
स्थानीय सरकार, सम्बन्धित निकाय तथा प्राविधिक टोलीको समन्वयमा तटबन्धन निर्माण कार्य धमाधम भइरहेको छ। निर्माण सम्पन्न भएपछि नदी कटान नियन्त्रण भई बस्ती, खेतीयोग्य जमिन र भौतिक पूर्वाधार सुरक्षित हुने विश्वास गरिएको छ।
यस मुद्दालाई विघटित प्रतिनिधिसभाका सांसद सूर्यप्रसाद ढकालले सडकदेखि सदनसम्म सशक्त रूपमा उठाउँदै आएका थिए। उहाँले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रका नागरिकको दीर्घकालीन सुरक्षाका लागि स्थायी समाधानको माग गर्नुभएको थियो। बजेट सुनिश्चितता, योजना स्वीकृति र कार्यान्वयन प्रक्रियामा निरन्तर पहल तथा दबाबका कारण अहिले निर्माण कार्यले ठोस गति लिएको स्थानीयवासीको भनाइ छ।
स्थायी तटबन्धन निर्माणसँगै राप्ती किनारका बासिन्दाले दीर्घकालीन सुरक्षा र स्थायित्वको अनुभूति गर्ने अपेक्षा गरिएको छ। विकास र जनसुरक्षाका मुद्दामा निरन्तर सक्रिय नेतृत्वकै परिणामस्वरूप यो योजना मूर्त रूप लिँदै गएको सरोकारवालाहरूको विश्वास छ।
