ब्रह्माकुमारीजद्वारा शिवध्वजारोहणसँगै स्नेह मिलन
आइतवार नेपालगन्जमा ९० औँ महाशिवरात्री महोत्सव आयोजना गरिएको छ । ब्रह्माकुमारीज क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा आयोजित ९० औँ महाशिवरात्री महोत्सवअन्तर्गत शिवध्वजारोहण तथा स्नेह मिलन कार्यक्रम आयोजना गरेको हो ।
महोत्सवमा सहभागीहरु भन्छन्, ‘आध्यात्मिक ऊर्जा, आत्मीयता र सद्भावको सन्देश बोकेको उक्त कार्यक्रमले नेपालगन्जलाई एकदिनका लागि नै शिवमय बनाएको अनुभूति गरायो ।’
ब्रह्माकुमारीजका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख ब्र.कु. दुर्गा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी सहभागी थिए । उनले धर्म र संस्कृतिको संरक्षणसँगै युवापुस्तालाई नैतिक मार्गदर्शन दिन यस्ता कार्यक्रम महत्वपूर्ण हुने धारणा राखेका थिए ।
कार्यक्रममा शिवध्वज आरोहणसँगै विश्वशान्ति, नैतिक मूल्यमान्यता र आत्मजागरणका विषयमा मन्तव्य व्यक्त गरिएको थियो । वक्ताहरूले समाजमा बढ्दो तनाव, विभाजन र मूल्यहीनताका बीच आध्यात्मिक चेतनाको आवश्यकता औंल्याउँदै शिवरात्रिले आत्मशुद्धि र सकारात्मक रूपान्तरणको प्रेरणा दिने बताए ।
ब्र.कु. दुर्गा दिदीले शिवको सन्देश आत्मानुशासन, पवित्रता र सेवा भावमा केन्द्रित रहेको उल्लेख गर्दै ‘व्यक्ति परिवर्तन भए समाज परिवर्तन हुन्छ’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्न आग्रह गरिन् ।
कार्यक्रममा प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, पूर्व सञ्चार मन्त्री शिवराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, वडा नं. ८ का अध्यक्ष रजनिस वाजपेयी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी तथा नेपालगन्जका पूर्व उपमेयर उमा थापालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो ।
स्वास्थ्यकर्मी, उद्योगी–व्यवसायी, समाजसेवी, सञ्चारकर्मी, साहित्यकार तथा विभिन्न धार्मिक संघ–संस्थामा आबद्ध प्रतिनिधिहरू र श्रद्धालुहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।
आध्यात्मिक संगीत, शुभकामना आदान–प्रदान र सामूहिक सद्भावको वातावरणबीच सम्पन्न उक्त स्नेह मिलनले आपसी भाइचारा र सकारात्मक ऊर्जा प्रवाह गर्ने सन्देश दिएको आयोजकले जनाएको छ ।






























