आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै जाँदा जिल्ला तहमा तयारीलाई थप व्यवस्थित र आचारसंहिता पालनामा कडाइका साथ अघि बढाउने निर्णय गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको समन्वय बैठकले मतदाता शिक्षादेखि कर्मचारी परिचालन र आचारसंहिता कार्यान्वयनसम्मका विषयलाई प्रभावकारी ढंगले लागू गर्ने निष्कर्ष निकालेको हो ।
सम्बद्ध स्रोतका अनुसार, बैठकले सबैभन्दा पहिले मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक स्थानीय तहका वडासम्म पु¥याउने र त्यसको नियमित अनुगमन गर्ने निर्णय गरेको छ ।
निर्वाचनको विश्वसनीयता र मतदाता सहभागिता बढाउन मतदाता शिक्षालाई आधार स्तम्भका रूपमा अघि सारिएको छ । यसका लागि स्थानीय तह, विद्यालय, नागरिक समाज र सरोकारवाला निकायसँग सहकार्य गरिने जनाइएको छ ।
‘निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको अभिमुखीकरण कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ,’ बैठकमा सहभागीले भने । बैठकले गरेको निर्णय अनुसार, जिल्ला निर्वाचन कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय गरी आवश्यक तालिम र अभिमुखीकरण सञ्चालन गर्नेछ, जसबाट मतदान प्रक्रिया त्रुटिरहित र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिसँग आचारसंहिता पालनासम्बन्धी विषयमा छुट्टै छलफल आयोजना गर्ने निर्णयले निर्वाचनलाई मर्यादित र अनुशासित बनाउन आयोगको जोड स्पष्ट देखिएको छ ।
‘प्रचार–प्रसारका क्रममा आचारसंहिताको कडाइका साथ पालनामा जोड दिँदै सम्भावित विवाद न्यूनीकरणतर्फ अग्रसर हुने संकेत बैठकले दिएको छ,’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहेका आचारसंहिता अनुगमन अधिकारी पूर्ण बहादुर खत्रीले दैनिक नेपालगन्जसँग भने ।
यसैगरी, निर्वाचन आयोगबाट प्राप्त हुने सामग्रीको सुरक्षित भण्डारण, प्याकिङ र समयमै वितरण सुनिश्चित गर्न जिल्ला निर्वाचन कार्यालयलाई जिम्मेवारी तोकिएको छ । सामग्री व्यवस्थापनमा ढिलाइ वा कमजोरी हुन नदिन पूर्वतयारी सुदृढ पारिने जनाइएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै पक्षबीच समन्वय र जिम्मेवारीबोध अत्यावश्यक रहेकोमा जोड दिएका छन् ।
निर्वाचन व्यवस्थापन समितिको उक्त बैठक समितिका संयोजक तथा मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालको संयोजकत्वमा बसेको बैठकमा जिल्लाका प्रमुख सुरक्षा तथा प्रशासनिक निकायका पदाधिकारीहरुको उपस्थिति थियो ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत सरोजनिधी वाग्ले, बाँके क्षेत्र नं. ३ का निर्वाचन अधिकृत दशरथ गौतम, प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपाली सेना बृजदल गणका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जी.सी., सशस्त्र प्रहरी उपरीक्षक भिम बहादुर चन्द, जिल्ला अनुसन्धान कार्यालय, बाँकेका उप–अनुसन्धान निर्देशक हरिश बिष्ट, प्रमुख कोष नियन्त्रक सर्वोत्तम उपाध्याय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङ र जिल्ला निर्वाचन अधिकारी टेक बहादुर शाह बैठकमा सहभागी थिए ।
बैठकमा आसन्न निर्वाचन व्यवस्थापन, सुरक्षा समन्वय, कर्मचारी परिचालन, मतदान केन्द्रको तयारी तथा आवश्यक पूर्वाधार व्यवस्थापन सम्बन्धी विषयमा छलफल गरिएको बताइएको छ ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित ढंगले सम्पन्न गर्न सबै निकायबीच समन्वयात्मक ढंगले काम गर्ने निर्णय समेत बैठकले गरेको जनाएको छ । जिल्लाको सुरक्षा जोखिमबारे पनि बैठकमा बिश्लेषण गरिएको सम्बद्ध स्रोतले जनाएको छ । ‘कुनै किसिमको अवाञ्छित कार्य हुन नदिन उच्च सतर्कता अपनाउनेबारे कुरा भएको छ,’ स्रोतको भनाइ छ, ‘त्यसका लागि दलहरुका गतिविधिमा निगरानी भइरहेको छ ।’
आइतवारनै निर्वाचन प्रचार प्रसारलाई व्यवस्थित र आचारसंहिताको पूर्ण पालनाका लागि जिल्लास्थित राजनीतिक दल र उम्मेदवार तथा उनका प्रतिनिधिहरुसँग निर्वाचन व्यवस्थापन समितिले परामर्श बैठक गरेको छ । ‘निर्वाचन पूर्वतयारी समीक्षा गर्दै आचारसंहिता पालनामा हामी सबैलाई जिम्मेवार बनाउनु बैठकको उद्देश्य हो,’ बैठकपछि नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपाल अधिकारीले दैनिक नेपालगन्जसँग भने ।





























